• २०८३ असार १७
  • 2026 July 01, Wednesday

खनाललाई शर्माको प्रश्न– नयाँ गठबन्धन टुटाउन लागेको कथित बाह्य शक्ति तपाईं आफैं त होइन ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य,कांग्रेस सांसद युवराज शर्माले नेकपा एसका सम्मानित नेता झलनाथ खनालसँग नयाँ सत्ता समिकरणको सरकारलाई उत्तर, दक्षिण या पश्चिम कसले असफल पार्न लाग्यो भन्दै घुमाउरो गरी जवाफ मागेका छन् ।

आइतबार राष्ट्रिय सभा बैठकमा सांसद शर्माले निवर्तमान गठबन्धन टुटाउन लागिपरेको कथित बाह्य शक्तिका रुपमा खनाल आफैं सक्रिय त थिएनन् भन्दै संशय व्यक्त गरे ।

उनले खनालको नयाँ सत्ता समिकरणको सरकार बनेकै दिनदेखि सरकारलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू षड्यन्त्रमा लागेको भन्ने शनिबार सार्वजनिक टिप्पणीप्रति लक्षित गर्दै भने, ‘भर्खर बनेको सत्ता गठबन्धन भत्काउन बाह्य शक्ति पूर्व,पश्चिम,उत्तर वा दक्षिण कतातिरको लागेको हो त्यो शक्ति बताइदिए हुन्थ्यो । कि राजनीतिक जुमलेबाजीमै जिवन खेर फाल्ने होकि ?’

निवर्तमान गठबन्धनलाई धेरै दिनको प्रयासबाट टुटाउन सफल भएको भनेर खनाल आफैंले बताएको उल्लेख गर्दै शर्माले सोधे ‘कथित बाह्य शक्ति तपाईं आफैं त होइन?’

शनिबार खनालले नयाँ समिकरणको गठबन्धनलाई शुभकामना दिँदै नयाँ बनेको सत्ता गठबन्धनलाई फुटाउन ‘कतिपय पार्टीहरूभित्रै पनि षड्यन्त्रका तानाबाना बुनिँदैछन्’ भन्दै कांग्रेस लक्षित व्यङ्ग्यातमक टिप्पणी गरेका थिए।

संविधान विपरित संसद विघटन गरेर मध्यावधि निर्वाचन गराउन उद्दत एमाले र एमालेकै विरोध गर्ने माओवादी–नेकपा एस तत्कालिन कांग्रेससँगको सत्ता गठबन्धनमा सामेल भएको भन्दै उनले सत्तामा राजनीतिक दलका अनौठो संयोग हेरिरहेको बताए ।