• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क घटाउन अर्थमन्त्रीसँग माग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का आरके समूहका अध्यक्ष राजेन्द्र कुमार शर्माले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेका छन् ।

मन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा श्रमिकका समस्याका साथै नयाँ आर्थिक वर्ष २०८१०८२ को बजेटका विषयमा छलफल गरेका छन् ।

अहिलेपनि श्रमिकहरुले रेमिट्यान्स पठाउँदा चर्को शुल्क तिर्नुपर्ने बाध्यता रहेकाले त्यसलाई बजेटमार्फत कम गर्ने वातावरण बनाउन आग्रह गरे । अहिले मध्यपूर्वबाट नेपालमा रेमिट्यान्स पठाउँदा एक पटकमा २३ रियाल तिर्नुपर्ने वाध्यता रहेको र प्रत्येक महिना पठाउँदा यसले श्रमिकहरुलाई नै मार पर्ने गरेको बताए।

रेमिट्यान्स पठाउँदा शुल्क महँगो भएकाले पनि कतिपयले हुन्डीमार्फत अवैधरुपमा पैसा पठाउने गरेकोतर्फ सचेत गराउँदै अध्यक्ष शर्माले तत्काल बैंकिङ च्यानलबाट पठाउँदा प्रोत्साहन र पुरस्कारको व्यस्था गर्न पनि माग गरे ।

जवाफमा अर्थमन्त्री पुनले अहिले बजेट बनाउने बेला भएको र नेपाली श्रमिकहरुको समस्या समाधानका लागि सरकारले विशेष व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।