
काठमाडाैं । काठमाडौंस्थित भारतीय राजदूतावासले ‘नेपाल–भारत लिटरेचर फेस्टिभल’ अन्तर्गत पुस्तक विमोचन, छलफल र लघुकथा वाचन कार्यक्रम आयोजना सम्पन्न गरेकाे छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भूपाल राईकाे प्रमुख आतिथ्यता तथा लता केसीकाे विषेश आतिथ्यतामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा नेपालका प्रख्यात लघुकथा लेखक नारायण तिवारी र स्नेह सायमीले नेपालीमा लेखिएका लघुकथा वाचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिद्वारा डा. श्वेता दीप्तीको लघुकथा संग्रह ‘टुकडोंमै बीती जिन्दगी’ विमोचन गरिएको थियो ।
‘नेपाल–भारत पुस्तकालय’मा आयोजित कार्यक्रममा साहित्य जगतका प्रतिष्ठित व्यक्तित्व, भाषाविद्, तथा लेखकहरुको उपस्थिति रहेको थियो । सम्बोधनमा प्रमुख अतिथि राईले नेपालको साहित्य जगतमा साहित्यको महत्व र लघुकथा लेखनको उत्कृष्ट परम्पराको बारेमा प्रकाश पारेका थिए ।
उनले नियमित रूपमा साहित्यिक कार्यक्रम आयोजना गरेकोमा भारतीय दूतावासलाई धन्यवाद पनि दिए ।