• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

दश सहरमा अस्करको ‘सिनेमा साक्षरता अभियान’

काठमाडौं । दुई दशकदेखि नेपालमा फिल्म शिक्षा प्रदान गरिरहेको अस्कर कलेजले देशव्यापी ‘सिनेमा साक्षरता अभियान’ सञ्चालन गर्ने भएको छ ।

आज चैत १४ देखि २५ सम्म सञ्चालन हुने अभियान पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मका प्रमुख १० सहरमा गर्न लागिएको कलेजले जनाएको छ ।

पूर्वको बिर्तामोडबाट सुरु हुने अभियान विराटनगर, इटहरी, जनकपुर, हेटौंडा, चितवन, बुटवल, दाङ, धनगढी हुँदै पोखरामा आएर टुङ्गिनेछ ।

कलेजका प्राध्यापक रामराजा दाहालले नयाँ पुस्तालाई फिल्म सम्बन्धी आधारभुत जानकारी दिने र उनीहरुमा फिल्मप्रति रुचि जगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए ।

‘फिल्मका धेरै गतिविधि काठमाडौं केन्द्रित भएकोले काठमाडौं बाहिर यस्ता कार्यक्रम गरिराख्नुपर्ने खाँचो महसुस गरेर यो अभियान गरेको हो’, उनले भने ।

उनका अनुसार प्लस टु सकेर स्नातक तहमा के पढ्ने भन्ने सोचिरहेका विद्यार्थीहरुलाई लक्षित गरी सञ्चालन गरिएको अभियानमा हरेक सहरमा एक दिने कार्यशालामार्फत फिल्म शिक्षाका विविध पक्षबारे प्रशिक्षण दिइनेछ।

कार्यशालामा फिल्म सम्बन्धी प्रश्नोत्तर, अभिनयका अभ्यास, फिल्म इतिहास, चरित्रबारे जानकारी दिइनेछ।
कार्यशालामा वास्तविक जीवनमा देखिएका चरित्रको उदाहरण दिँदै घटना परिघटना जोड्दै सहभागी विद्यार्थीहरुले तत्कालै एउटा कथालाई कसरी पटकथामा रुपान्तरण गर्ने कुरा पनि सिकाइनेछ ।

कागजमा लेखिएका कुरालाई कसरी श्रव्यदृश्यमा रुपान्तरण गर्ने भनेर त्यहीँ प्रयोगात्मक अभ्यास पनि गरिने प्राध्यापक दाहालले बताए । कार्यक्रममा कलेजबाट दीक्षित र पढिरहेका विद्यार्थी गरी दुई जनाको फिल्मसमेत देखाइने छ ।