• २०८३ असार १७
  • 2026 July 01, Wednesday

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका मुख्यसचेतकहरूको टोली विदेशिएपछि ठप्प बनेको संसद् आइतबारदेखि सुचारू हुँदैछ । प्रतिनिधिसभाको बैठक आइतबार विहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको आरोप रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानविन समिति गठनको माग गरेर संसद्मा अवरोध गरिरहेकै बेला सभामुख घिमिरे ८ चैतमा संसद् ठप्प पारेर विदेश भ्रमणमा निस्किएका थिए । उनीसँगै सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरू समेत विदेश भ्रमणमा गएका थिए ।

उनीहरूले चैत १० देखि १४ गतेसम्म जेनेभामा भएको अन्तर व्यवस्थापिका संघको महासभामा भाग लिएका थिए ।

सभामुख घिमिरे स्वदेश फर्किएपछि आइतबारदेखि पुनः संसद् सुचारु भएको हो । बैठकअघि दलहरुले संसदीय छानविन समितिका विषयमा छलफल थालेका छन् । संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बेलुका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरूसँग छलफल गरेका थिए ।

त्यसअघि शनिबार विहान बसेको सत्ता साझेदार दलहरूको बैठकले गृहमन्त्री लामिछानेविरुद्धको आरोपमा संसदीय छानविन समिति गठनको आवश्यकता नभएको निष्कर्ष निकालेको थियो ।