काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानविन समिति गठन हुन नसकेको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद भेलालाई बिराटनगरमा सम्बोधन गर्दै नेता महरले एमाले र रास्वपाका अधिकांश नेता सहकारी ठगी प्रकरणमा मुछिएको र मन्त्रिपरिषदमा पनि विवादित व्यक्तिहरू रहेकाले वर्तमान सरकारबाट सुशासनको कुनै अपेक्षा नरहेको बताए ।
‘विवादित व्यक्ति यतिबेला मन्त्रिमण्डलमा छन्। हामीले सडकदेखि सदनसम्म सहकारीमा जम्मा गरेको जनताको रकम दुरुपयोग गर्नेहरूमाथि छानविनका लागि आवाज उठाइरहेका छौं । तर, सरकार अटेरी गरिरहेको छ । किनकि सरकारमा प्रधानमन्त्री भन्दा बलिया अपराधिक मानसिकता भएका व्यक्तिहरू छन्। उनीहरूले प्रधानमन्त्रीलाई विभिन्न दवाव र प्रभावमा पारिरहेका छन्,’ महरले भने ।
त्यस्ता व्यक्तिहरूलाई जनताले समयमै पाखा लगाउनु पर्ने महरले बताए । सहकारी ठगीदेखि विभिन्न प्रकरणमा मुछिएकाहरू वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रहेकाले उनको हालको क्याविनेट नै अपराधिको संगठन जस्तो रहेको महरले आरोप लगाए ।