गोरखामा महाभूकम्पको स्मृति आज, सुलीकोट गाउँपालिकामा सार्वजनिक बिदा

काठमाडौं । २०७२ वैशाख १२ गते गएको विनासकारी महाभूकम्पको स्मृतिमा आज गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ।

मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले आज बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।

नौं वर्ष अगाडि ०७२ वैशाख १२ गते शनिबार मध्यान्ह्र बारपाक केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछि निरन्तर गएको ठूला पराकम्पमा ज्यान गुमाएका नागरिकको सम्झनामा गाउँपालिकाले बिदा दिएको जनाएको हो ।

गाउँपालिकाले आज पौन्य बाह्र बजे वडा नम्बर १ मा रहेको श्री हिमालय माविको खेलमैदानमा श्रद्धाञ्जली सभा राखेको जानकारी भट्टले दिए ।

०७२ मा गएको भूकम्पमा गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै जन धनको क्षति पुगेको थियो भने ३२ जिल्ला प्रभावित भयो ।

बारपाकका सहित आठ हजार ९७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी मानिस घाइते भएको गृह मन्त्रालयको तथ्यांक छ । भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रुपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्यायो ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१