संसदीय समितिलाई क्रियाशील बनाउन सभापतिहरुलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुलाई महत्वपूर्ण बिषयहरु चाँडो छलफल गरेर टुंग्याउन र आउँदो बजेट अधिवेशनमा संसदमा प्रस्तुत हुने वातावरण बनाउन निर्देशन दिएका छन् ।

आज सबै समितिका सभापति, दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर सभामुख घिमिरेले समितिहरुलाई प्रभावकारी बनाउन सुझाव दिएका छन्
छलफलपछि सभामुख घिमिरेले महत्वपूर्ण विधेयकहरुलाई विलम्व नगरी समितिमा छलफल सकेर संसदको आगामी बैठकमा निर्णय हुनेगरी प्रस्तुत गर्न सरसल्लाह भएको सम्वाददाताहरुसँग बताए ।

बजेट अधिवेशन कुनै बाधा अवरोध नभई अघि बढ्नेमा आफू विश्वस्त रहेको बताउँदै घिमिरेले संसदलाई प्रभावकारी बनाउन सबै दलहरुको समान चासो रहने बताए ।

आगामी अधिवेशन अघि नै राजनीतिक दलका नेताहरुसँग संसदलाई प्रभावकारी बनाउने बिषयमा परामर्श गर्ने सभामुखले बताए ।
सभापति र प्रमुख सचेतकहरुको छलफलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन र अन्य महत्वपूर्ण विधेयकबारे चर्चा भएको थियो ।

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले संसद र संसदीय समितिले गरेका निर्णयको कार्यान्वयन गराउने कुरामा अडिग रहेर निर्देशन दिन र त्यसको जिम्मेवारी लिन सभामुखलाई सुझाव दिईएको बताए ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय समितिका निर्णयलाई कडाईकासाथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिने र अनुगमन समेत गर्न आवश्यक भएको भनेर सभामुखलाई सुझाव दिएको बताए ।

संसदीय समितिले गरेका निर्णय र निर्देशनहरुको पालना नभएको देखिएकाले सरकारका सम्बन्धित निकायसँग समितिका सभापतिहरु असन्तुष्ट रहेको बुझिएको छ । समितिले निर्देशन दिएपनि उच्च तहको नेतृत्वको हस्तक्षेपले सम्वेदनशील बिषयहरु थान्को लाएर सरकारी निकायले समितिलाई नटेर्ने गरेको एक सभापतिले सुनाए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७