• २०८३ असार १६
  • 2026 June 30, Tuesday

‘चुनावअधि पानीमा भिजेको बिरालो जस्ता प्रचण्ड चुनावपछि बाघ जस्तो भएर गर्जन थाल्नुभयो’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले, प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सत्ता स्वार्थको लागि जे पनि गर्न तयार हुने भएकै कारण उनलाई भरोषा गर्न नसकेको बताएका छन् ।

बुधबार काठमडौंमा आयोजित १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले माओवादी केन्द्रका अध्यक्ष दाहाल चुनाव अघि पानीमा भिजेको बिरालो भएको र चुनाव जितेपछि बाघ जस्तो भएर गर्जन थालेको बताए ।

‘चुनावपछि खोलो तयो लौरो विर्सियो भने जस्तो भयो । प्रचण्ड जी ले चुनाव अघि पानीमा भिजेको बिरालो जस्तो भएको मान्छे बाघ जस्तो भएर चुनावपछि गर्जन थाल्नुभयो । ’
उनले दाहालले खोलो तयो लौरो विर्सियो भनेझै आफूलाई व्यवहार गरेको स्मरण गर्दै थपे, ‘अब फेरी माओवादी पार्टीलाई हामी समाजवादी पार्टीमा रुपान्तरण गछौं मिलेर जाऔ भन्नुभयो ।

तर प्रचण्ड जि माथि मेरो विश्वास थिएन् । उहाँ त सत्ताको लागि जे पनि गर्नुहुन्छ । तपाई कुर्सिमा बस्ने हो भन्यो भने उहाँ जतापनि बस्दिनुहुन्छ भन्ने मलाई थाहा थियो ।’

भट्टराईले माओवादीसँग नयाँ ढंगबाट पार्टी एकता गरेर जाने सन्दर्भमा कुनै कुरा नै नभएको दाबी गरेका छन् ।
‘माओवादी युग र विचारको समय सकियो नयाँ ढङ्गबाट समाजवादी सहितको धु्र्विकरण छ हामी त्यसमा आउँछौं भनेको हो । त्यहाँ पार्टी एकिकरण गर्ने कहिँ भनेको थिएन,’ भट्टराईले भने ।

उनले देशका पुराना पार्टीहरु भ्रष्टाचारमा डुवेको भन्दै सबै पुराना दल मक्कीसकेको र भ्रष्टाचारमा लिप्त भएको र जतिगरे पनि नसच्चिने आरोप लगाए ।

उनले भने,‘पुराना शक्तिहरुलाई जतिसुकै हामीले दया मायाँ गरेपनि यी सचिच्नेवाला छैनन् । त्यो भ्रममा नपरौं । अब झन् हुँदैन् । यी शक्तिहरुका हड्डीसम्म मक्कीसकेको छ । यी भ्रष्टाचारका काण्डहरु हिम नदीको एउटा टुप्पो मात्र हो । भरियाहरु समातिएका छन् । तर नाईकेहरु समातिएका छैनन् । आलोपालो सत्तामा जान्छन् । जब जनताले भ्रष्टाचारको आवाज उठाउँछन् । अनि रोक्छु भनेजस्तो गरेर अरु प्रति औंला देखाउँछन् ।’

पुराना दलले विकास गर्नै नसक्ने टिप्पणी गरेका उनले देशको विकासको लागि नयाँ राजनीतिक दलको अवश्यकता रहेको चर्चा गरे ।