• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

सञ्चार जगत राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्ने

काठमाडौं । केन्द्रविन्दुमा श्रमजिवी पत्रकारको सुरक्षा हुनुपर्नेमा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ । यसैगरी सञ्चार जगत राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्ने र कर्पोरेट क्षेत्र विशेषतः ठूला कम्पनीहरुको स्वार्थको हतियार बन्न नहुनेमा समेत शान्ति समाजले ध्यानाकर्षण गराएको छ ।

३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा अघि सारिएको अवधारणापत्रमा युद्धको चपेटामा सय भन्दा बढी पत्रकारहरुको हत्याको निन्दा गर्दै जस्तोसुकै अवस्थामा पनि पत्रकारहरुको सुरक्षा हुनुपर्नेमा जोड दिइएको छ ।यसैगरी लोकतान्त्रिक एवं स्वतन्त्रताको आन्दोलनमा नेपालको सञ्चारजगतको विशिष्ट योगदान रहेको स्मरण गर्दै अबको बाटो भनेको मर्यादित एवं व्यवसायिक पत्रकारिताकाको क्षेत्रमा अर्को मानक स्थापित गर्नु रहेको र त्यसका लागि सम्वद्धहरुबाटै समीक्षा, मन्थन र मार्ग निर्धारण आवश्यक भएको धारणा शान्ति समाजको रहेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको आयोजनामा विभिन्न जिल्लामा कार्यक्रम भएको छ । युद्धको चपेटामा पत्रकारहरु युद्ध अन्त्य गर, पत्रकारको सुरक्षा गर, मर्यादित एवं व्यवसायिक पत्रकारिता  केन्द्रविन्दुमा श्रमजीवि पत्रकारको सुरक्षा भन्ने आह्वानसहित २०८१ वैशाख २१ गते दाङमा संवाद कार्यक्रम र काठमाण्डौँ, संखुवासभा, चितवन जिल्लामा प्रदर्शन सम्पन्न भएको हो । यस्तै शान्ति समाज जिल्ला शाखाहरुको आयोजनामा अन्य जिल्लाहरुमा पनि कार्यक्रम भइरहेको छ ।

काठमाडौंमा सम्पन्न कार्यक्रममा केन्द्रीय सभापति रामकृष्ण बराल, राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी, शान्ति समाजका सल्लाहकार गोविन्द खनाल, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, समाजसेवी लालु लामा, पत्रकार रघु लामिछानेले मन्तव्य राखे ।
यसैगरी मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन शान्ति समाजको दाङ शाखाले श्रमिकको पेशा तथा भौतिक सुरक्षाको सुनिश्चितता विषयमा अन्तरक्रिया र पाल्पा शाखाले मर्यादित काम श्रमिकको सम्मान हाम्रो अभियान भन्दै तानसेनको नारायणस्थान चोकका श्रमिकहरुलाई खाद्यान्न वितरण गरेको थियो ।