‘नेपाललाई शैक्षिक गन्तव्य बनाउने पर्याप्त सम्भावना छन्’

पंकज जालान
अध्यक्ष, लर्ड बुद्ध एजुकेशन फाउन्डेसन

कक्षा–१२ को परीक्षा बुधबारदेखि सकिएको छ । पछिल्लो समय प्लस–टु पछि पढ्ने र सँगै काम गर्दै कमाउने सपना देखेर विदेश जाने विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ । कक्षा–१२ को परीक्षा सकिएर बसेका विद्यार्थीहरु अब के गर्ने ? विदेश जाने कि नेपालमै पढ्ने ? यो द्विविधाबाट गुज्रिरहेका छन् । नेपाली विद्यार्थीले विदेशका विश्वविद्यालयमा धमाधम भर्ना लिइरहेका बेला नेपालकै विश्वविद्यालय र शैक्षिक संस्थाहरु भने विद्यार्थी नभएर संकटमा परिरहेका छन् । यस्तोमा लर्ड बुद्ध एजुकेशन फाउण्डेसनका अध्यक्ष पंकज जालान भने नेपालमै शैैक्षिक क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेको बताउँछन् । नेपाललाई शैक्षिक गन्तव्य नै बनाउने सम्भावना रहेको उनको दाबी छ ।

नेपालबाट हजारौँ विद्यार्थीहरू पढ्नकै लागि भनेर विदेशिने क्रम बढिरहेको छ । नेपालको शिक्षा र शैक्षिक प्रणालीलाई तपाईले कसरी हेरिरहनुभएको छ ?
नेपालको शिक्षा कमजोर भयो । तर कमजोर भयो भनेर चुप लागेर बस्न मिल्दैन । हामीले सुधारका लागि पनि प्रयास गर्नुपर्ने हुन्छ । शिक्षामा अन्तर्राष्ट्रिय जगतले जुन हिसाबले फड्को मारिरहेको छ, त्यो अनुसार हामीले पनि सुधार गर्दै जानुपर्ने आवश्यकता छ । अहिलेको बच्चाहरुलाई कस्तो किसिमको शिक्षाको आवश्यकता छ ? कुन किसिमबाट उनीहरुको विकास गर्ने ? नेपालमा पढेको विद्यार्थी अन्तर्राष्ट्रियबजारमा खोजी हुने गरीको अवस्था कसरी बनाउने ? भनेर अहिले हामीलाई सुधारको मौका छ ।
समयको माग र परिवर्तित विश्वलाई सुहाउने किसिमको शिक्षा प्रणाली हामीले विकास गर्न आवश्यक छ ।

हामीसँग त अझैपनि त्यही पुरानो तरिका छ । शिक्षकले आफ्नो १० वर्ष पुरानो नोट लिएर कक्षाकोठामा जाने, त्यही लेखाइदिने, विद्यार्थीले पनि त्यही पढ्ने, घोक्ने र परीक्षा पास गराउने । यो अभ्यास चाँहि अब असान्दर्भिक भइसकेको हो जस्तो लाग्छ । त्यसकारण अब हामीले पुरानो अभ्यासलाई परिमार्जन गरेर वास्तवमा हामीलाई चाहिएको शिक्षा के हो ? कस्तो जनशक्ति चाहिएको हो ? भनेर बहस गर्नुपर्ने आवश्यकता रहेको छ ।

विद्यार्थीहरुलाई कसरी अगाडि बढाउने, उनीहरुको सोच, उनीहरुलाई दिने ज्ञान वा उनीहरुलाई सीपमूलक कसरी बनाउने भन्ने विषयमा सोच्नुपर्ने बेला आएको छ । अहिलेसम्म नेपालको शिक्षा प्रणाली स्कुल र उच्च शिक्षामा पहिलो कसरी बन्ने भन्ने दौडमा केन्द्रित छ । आफ्नो बच्चाले ‘ए’ ग्रेड ल्यायो वा ‘ए’ प्लस ल्यायो भने बाआमा त्यसमा खुसी हुने, तर उसले के सिकिरहेको छ भनेर ख्याल नगर्ने अवस्था छ । आफ्नो बच्चाले के सीप सिक्यो ? के ज्ञान हासिल गयो भन्नेमा कोही पनि चिन्तित रहेको देखिदैन । जब कि अन्तर्राष्ट्रियस्तरमा भने सीप कै कुरा प्राथमिकतामा आउँछ ।

त्यसकारण अब हामीले पनि कस्तो जनशक्ति उत्पादन गर्ने भनेर शिक्षालाई दिशा दिनुपर्ने आवश्यक छ । अर्को समस्या भनेको कोही दात्तृ निकायकोमा भर पर्नु हुँदैन । हाम्रो शिक्षाको डिजाइन हामी आफैंले गर्ने हो । एउटा विदेशी एजेन्सी आउँछ, उसले भनेजस्तो पाठ्यक्रम बनाउन, क्रेडिट आवर तोक्न हामी सबै भइहाल्छौँ । अहिलेको समस्या नै यही हो । एउटाले ‘प्लस टु’ कोर्सको अवधारणा दियो, हामी त्यतै लाग्यौँ । अर्को एजेन्सी आयो र स्नातक चार वर्षे गर्नुपर्छ भन्यो, हामी फेरि त्यसकै पछि लाग्यौँ । अहिले फेरि तीन वर्षे कुरा आइरहेको छ । त्यसकारण मुख्यकुरा सिकाइ हुनुपर्यौ त्यो तीन वर्षमा सिके पनि भो, चार वर्षमा सिके पनि उही हो । अमेरिकाले सन् २००९ देखि नै स्नातक तहमा चार वर्ष र तीन वर्ष कोर्स सँगै–सँगै चलाएको छ । जो अलिकति कमजोर र आर्थिक रुपमा पनि कमजोर छ, उसले चार वर्ष पढ्नुपर्यौ, पढ्नमा राम्रो र पैसा भएको मानिसले तीन वर्षे पढ्छ त्यसको फाइदा पनि छ । हामी सिकाइमा केन्द्रीत हुनै सकिरहेका छैनौँ । जबकि विश्वबजारमा इन्डस्ट्रियल–फोर, एजुकेशन–फोरको कुरा भइरहेको छ ।

हामी कहाँ निजी र सरकारी गरी दुई खाले शैक्षिक संस्थाहरूको अभ्यास पनि त्यहीअनुसार फरक–फरक रहेको छ । तपाई निजी क्षेत्रबाट शिक्षा क्षेत्रमा काम गरिरहनुभएको छ । देशको राजनीतिक अस्थिरताले शिक्षालाई कस्तो असर पुयाएको छ ? यहीकारण कस्ता खालका चुनौतीहरु झेल्नुपरेको छ ?

मलाई त आजको दिनमा नेपालको शिक्षा नै निजी क्षेत्रले धानेको हो जस्तो लाग्छ । निजी क्षेत्रबाट हामीले विद्यार्थीलाई विदेश जानबाट रोकिरहेका छौँ जस्तो लाग्छ । कम्तिमा यो कुराको त सरकारले हेक्का राख्नुपथ्र्यो । हामीलाई त सरकारले साझेदारको रुपमा पनि लिइरहेको छैन । सरकारले यिनीहरु त लुट्न आएका हुन् भनेर सोचेको देखिन्छ । निजी क्षेत्रलाई सरकारले नियमन गर्नु एउटा कुरा हो । तर शत्रुकै रुपमा हेरेर तर्सिनु त भएन नि । जबकि निजी क्षेत्र र सरकार मिलेर नेपालको शिक्षालाई साँच्चिकै माथि लैजान सक्छौँ भन्ने लाग्छ । सरकारले निजी क्षेत्रलाई कुनै सुविधा नै दिएको छैन । हामीले एउटा स्कुल बस ल्याउनुपर्यौ भने पनि ब्यापारका लागि ल्याएको बसकै जसरी खरिद गरेर ल्याउनुपर्छ ।

सरकारले निजी शैक्षिक क्षेत्रले पनि देशलाई योगदान गरिरहेको छ भनेर बुझेको छैन । हामीले सयौँलाई रोजगारी दिएका छौँ । हजारौँ विद्यार्थीहरुलाई विदेश पलायनबाट रोकेका छौँ । नेपालमै अन्तर्राष्ट्रियस्तरको जनशक्ति उत्पादन गरौँ भनेर मेहिनेत गरिरहेका छौँ । तर सरकारले हामीलाई कुनै सुविधा दिएको छैन । अहिले नयाँ शिक्षामन्त्री आउनुभएको छ, तर यत्तिका समय भयो उहाँले तीन वटा लगातार समितिहरु बनाउनुभएको छ, काम गर्न खोज्नुभएको छ । त्यसमा हामीलाई पनि चासो छ, तर उहाँले अहिलेसम्म भेटसम्म पनि दिनुभएको छैन । म आफैँ अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संघको संस्थापक अध्यक्ष हुँ । हामीले त्यो संस्थाबाट केही नयाँ अभ्यासहरु पनि गर्न खोजिरहेका छौँ । हामी आफैँ पनि त देशमै बसेर केही गर्न खोजिरहेका छौँ । नेपाल पनि शैक्षिक गन्तव्य हो है भनेर स्थापित गर्न हामीले चरणबद्धरुपमा पहल गरिरहेका छौँ ।

अहिले त नेपालमा विदेशी विद्यार्थीलाई स्टुडेण्ट भिसा नै दिने गरिएको छैन । यसबारे हामीले प्रधानमन्त्रीलाई भेट्यौँ, परराष्ट्रमन्त्रीलाई भेट्यौँ, नेपाललाई पनि शैक्षिक गन्तव्य बनाउन सकिन्छ भनेर पहल गरेका छौँ । तर हामीलाई सरकारले सघाउन खोजेको जस्तो लाग्दैन । विदेश जान्छु भन्यो भने ऋण पाइन्छ, सरकारको नीतिले भेट्छ, तर देशमै केही गर्छु, शैक्षिक संस्था खोल्छु भन्यो भने कुनै सहयोग पाउने सम्भावना छैन ।

निजी क्षेत्रको शिक्षा नै महङ्गो भयो, निजी क्षेत्रका शिक्षालयहरुले लुट नै मचाए भन्ने खालको आरोप पनि लाग्ने गरेको छ । यसमा तपाईहरु के भन्नुहुन्छ ?
सरकारले भन्ने मात्रै हो, वास्तविकता के हो त्यो हेर्नुपर्यौ । नेपाल सरकारले सामुदायिक विद्यालयहरु चलाएको छ । शिक्षकहरुलाई तलब दिएको छ । भत्ता सुविधाहरु दिएको छ । तर उपलब्धि के छ ? प्रतिविद्यार्थी सरकारले कति खर्च गरेको छ ? हरेक विद्यार्थीका लागि सरकारले ३० देखि ३५ हजार रुपैयाँ प्रतिमहिना खर्च गरिरहेको छ । तर तपाई उपत्यकाबाहिर गएर हेर्नुभयो भने मासिक ५ हजार, ६ हजार रुपैयाँमा निजी विद्यालय पढाइरहेको छ । अनि उपलब्धि चाँहि कसको कस्तो छ ? तुलना गरेर हेर्नुहोस् न । त्यसकारण सरकारले निजी विद्यालयको शुल्क महँगो भयो भन्न मिल्दैन । अर्को सरकारले विश्वाविद्यालयहरुलाई अनुदान दिन्छ, जनकपुरमा एउटा राजर्षि जनक विद्यालय भनेर छ, त्यसले प्रत्येक विद्यार्थीका लागि स्नातक तहमा साढे ८ लाख रुपैयाँ अनुदान पाउँछ ।

अनि त्यति पैसाले त निजी कलेजले पनि पढाइदिन्छ त । अनि महङ्गो कसरी भन्ने ? हामीलाई बानी एउटा के भएको छ भने कसैले केही गयो भने अरुलाई गाली गर्ने । नेपालको सबैभन्दा ठूलो समस्या के छ भने हामी तथ्यमा नगएर हो रे को भरमा जान्छाँ । तथ्य तथ्यांक हेरेर कुरा भन्ने कुरा हो ।

अहिले विद्यार्थीहरु ठूलो संख्यामा विदेश गइरहेको छन् । तपाईहरुले त विदेशी विद्यालयको पनि सम्बन्धन लिनुभएको छ । विद्यार्थीहरुले देशमै किन सम्भावना देखिरहेका छैनन् ? हाम्रो शिक्षा व्यवहारमुखी, सीपमुखी नभएर हो कि अरु कारण छन् ?
हामीले समग्ररुपमा नै बच्चाहरुलाई बुझाउन नसकेको हो । कक्षा–१२ सक्ने बित्तिकै मान्छे विदेश जान तयार हुन्छ । तर त्यहाँ कति दुःख छ ? कति कठिन छ ? त्यसबारे राम्रोसँग बुझ्न पाएकै हुदैन । लाखौँ रुपैयाँ खर्च गरेर क्यानडा, अष्ट्रेलिया गएर रेष्टुरेण्टमा भाँडा माझ्दै पढ्नुपर्ने अवस्थामा पुग्छ ।

त्यसबाट हामीलाई के प्राप्त हुन्छ र ? हामीले क्षमता भएका, सम्भावना भएका विद्यार्थीहरुलाई यही पढाएर उनीहरुलाई दक्ष जनशक्तिकोरुपमा उत्पादन गर्न सक्नुपर्छ । हामीले यो कुरा बुझाउनका लागि शिक्षा मन्त्रालयलाई पनि कत्तिपटक आग्रह गरेका छौँ । नेपालमा खोक्रो राष्ट्रवाद हाबी छ । देशलाई गाली गर्ने युवामा आफ्नोे देशको लागि रत्तिभर प्रेम छैन । वास्तवमा हामीले युवा जनशक्तिलाई देशमा राखेर सीपमूलक शिक्षा दिएर उत्पादनमा लगाउने हो भने बल्ल आर्थिकरुपमा समृद्धि हासिल गर्न सकिन्छ ।

मलेसियामा आजको २५ वर्ष पहिला शिक्षामा केही पनि थिएन । आजको दिनमा सरकारले त्यहाँ यस्तो व्यवस्था गयो कि त्यहाँ अहिले ९५ वटा विश्वविद्यालय छन् । त्यहाँ १३० वटाभन्दा बढी देशका विद्यार्थी पढ्न आउँछन् । मलेसिया शिक्षाको लागि हब भएको यतिकै होइन । त्यसकारण सरकारले गर्न चाह्यो भने नेपालमा पनि त्यो सम्भावना छ । हामीकहाँ विश्वविद्यालय नभएका होइन, व्यवस्थापन र सिकाइ उपलब्धि कमजोर हो । हाम्रो लगानी पनि कम चाँहि होइन । यहाँ त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालयसहित दर्जनौँ विश्वविद्यालय छन् । सबै नराम्रा छन् भन्ने होइन, तिनलाई व्यवस्थित गर्ने हो भने विदेशकोभन्दा कमजोर हुने कुरै छैन । विदेशमा भए राम्रो, देशमा भए नराम्रो भन्ने त हुदैन । त्यसकारण यो कुरा हामीले सबैलाई बुझाउन आवश्यक छ ।

अहिले नेपालमा पनि आइटी क्षेत्रमा विद्यार्थीहरुको आकर्षण देखिन्छ । यसमा कस्तो सम्भावना देख्नुहुन्छ ?
सबैभन्दा पहिले आइटी पढ्दा के पढ्ने ? भन्ने प्रष्ट हुनुपर्छ । हामी कहाँ कोर्सको नाममात्रै सुनेको आधारमा पढ्न जाने समस्या छ । त्यो भित्र के सिक्ने हो ? थाहा छैन । अहिले एआइ, साइबर सेक्यूरेटी र आउने समयमा क्लाउड इन्जिनको धेरै राम्रो बजार छ । लगानी सम्मेलनमा पनि क्लाउड सम्बन्धी एउटा सम्झौता भएको छ । तर पाठ्यक्रम हेर्दा म के पढ्छु त्यो ज्ञान हुनुपर्छ । हाम्रो बच्चाहरुको समस्या उनीहरुलाई पाठ्यक्रम नै थाहा हुदैन ।

आइटी सुन्या छ, राम्रो मार्केट छ भन्ने सुनेको छ, त्यतै कुदेको छ । मैले कति जना भेटेको छु । जसलाई पाठ्यक्रम नै थाहा छैन । पाठ्यक्रम नै नहेरी भर्ना भएपछि अफ्ठ्यारो हुन्छ । अब नेपालमा मात्रै होइन, विदेशमै गएर पढेपनि सम्भावना आइटीकै हो । कुनै पनि कोर्स पढिसकेपछि विद्यार्थीले के सिक्छ ? त्यो कुरा अभिभावकले पनि ध्यानमा राख्नुपर्छ ।
तपाईहरुले उत्पादन गरिरहनु भएको जनशक्ति चाँहि कस्तो छ ? कहाँ परिचालन भएको छ ?

हाम्रो ६० प्रतिशत जनशक्ति नेपालमा नै छ । म दाबीका साथ भन्न सक्छु कि हाम्रो कलेजबाट उत्पादित एकजना बच्चा पनि खाली छैन । हामीले यस्तो सीप दिएर पठाएका छौँ कि हामीले पढाएको कोही पनि बच्चा खाली छैन । हाम्रो कलेजमा वर्षमा दुईपटक करिब करिब ३५ देखि ४० वटा कम्पनीहरु त्यहाँ आउँछन् । बच्चाहरु हेरेर इन्टर्नसिपको लागि पनि लिएर जान्छन् । हामीले ४ महिना विद्यार्थीहरुले फिजिकली काम गर्नुपर्छ, त्यो पढाइ कै पाटो हो । कतिपयले आफैँ कम्पनी खोलेर काम गरेर बसेका छन् । हामीले सुरुको दिन देखि नै सीप विकासमा जोड दिएका छौँ ।

नेपालमा हाम्रो पहिलो कलेज हो, जसले जब पोर्टल स्टार्ट गरेको छ । हामीले एकातिर बेरोजगारी छ भनिरहेका छौँ, अर्कोतिर उद्योगले म्यानपावर पाएको छैन । त्यो किन भएको भन्दा सीपको कमी भएर हो । मान्छे त जत्ति छन्, तर काम लाग्ने, सीप भएको व्यक्ति छैनन् ।

विदेश पलायन भइरहेका विद्यार्थीहरुलाई तपाईको सन्देश के हुन्छ ?
स्नातक तहको पढाइका लागि विदेश गएर कामै छैन । तपाई नेपालमा जन्मिएकोमा आफूलाई भाग्यमानी ठान्नुपर्छ । बाहिर जानुभन्दा पहिले त्यहाँ किन जान लागेको हो भनेर सोच्नु आवश्यक छ । साँच्चिकै पढ्नको लागि जान लागेको हो कि काम गर्न जान लागेको हो ? पढ्न जान लाग्या हो तपाईको परिवारसँग धेरै पैसा छ भने समस्या छैन, जाँदा हुन्छ । तर ऋण लिएर त्यहाँ गएर काम गरेर त्यसपछि ऋण चुकाउँछु भन्ने उद्देश्यले जान लाग्नु भएको छ भने बेकार हो । नेपालमा स्नातक तहको पढाइ सकेर छात्रवृत्तिमा स्नात्तकोत्तर पढ्न गए हुन्छ ।

तर पढ्छु, काम गर्छु, ऋण तिर्छु भन्ने हो भने त्यो बेकार हो । त्यस्तो सम्भावना हुदैन । न पढाइ राम्रो हुन्छ, न कमाइ । बरु ऋणमात्रै लाग्ने हो । किनकि नेपालबाट लाखौँ रुपैयाँ ऋण लिएर गएपछि त्यहाँ पुग्नेबित्तिकै पढाइ होइन, कामको चिन्ता सुरु हुन्छ । त्योभन्दा त देशमै संघर्ष गर्नु राम्रो हुन्छ नि ।

 

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७