• २०८३ असार १७
  • 2026 July 01, Wednesday

घरभित्रै वृद्धा मृत फेला

काठमाडौ। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित कालिका टोलमा एकजना वृद्धा घरभित्र मृत अवस्थामा फेला परेकी छन् ।६६ वर्षीया विष्णुमाया विष्ट बुधबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

मंगलबार राति ११ः४५ बजे घरमा चोर आएको भन्दै उनले काठमाडौंमा भएका छोरा प्रकाश विष्टलाई फोन गरेकी थिइन् । आमाको फोनपछि प्रकाशले छिमेकी श्रीप्रसाद सिटौलालाई गएर आफ्नो घर हेरिदिन भन्दै फोन गरेका थिए ।
छिमेकीहरू भेला भएर केहीबेर कुरा गरेपछि उनीहरू आआफ्नो घरतिर लागेका थिए । छिमेकीहरू गइसकेपछि मृतक पनि घरभित्र सुतेको स्थानीयले बताए ।

बिहान अबेरसम्म पनि उनी नउठेपछि स्थानीयहरू आएर हेर्दा गेटमा ताला लागेको तर घरको गेट भने खुल्लै अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।मृतकको शव खाटभन्दा तल भुइँमा कोल्टे परेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनको हत्या भएको आशंका गरिएको छ ।

उनको छोरा इन्द्र अमेरिका र प्रकाश काठमाडौँमा रहेकाले घरमा मृतक एक्लै बस्दै आएकी थिइन् । घटनाको थप अनुसन्धानका लागि घटनास्थल सुरक्षित राखी धरानबाट कुकुर बोलाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।