संघीय संसद्को संयुक्त बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ कालागि सरकारको वार्षिक नीति तथा कार्यक्रम आज संघीय संसद् पेश हुँदैछ । संघीय संसद्का दुवै सदनको मंगलबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संघीय संसद्  राष्ट्रपतिको सम्बोधनका लागि आवश्यक सबै तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको छ । हरेक वर्ष जेठ १५ मा सरकारले बजेट ल्याउनुअघि संघीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । जसअनुसार मंगलबार संघीय संसद्लाई राष्ट्रपति पौडेलले सम्बोधन गर्न लागेका हुन् ।सचिवालयकाअनुसार संघीय संसद्का सबै सदस्यहरूलाई दिउँसो २ः४५ बजेभित्र औपचारिक पोशाकमा उपस्थिति भइ आफ्नो आश ग्रहण गरिसक्न सूचित गरिएको छ ।

सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट सम्बोधन हुने संयुक्त बैठकलाई व्यवस्थित गर्न सोमबार सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।त्यसअघि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित संघीय संसद्मा रहेका दलका नेताहरूसँग बैठक सञ्चालनका विषयमा परामर्श गरेका थिए ।

राष्ट्रपतिले सम्बोधन गर्ने बैठकमा विभिन्न कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई समेत निमन्त्रणा गर्ने अभ्यास रहेको छ । संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधनपछि राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची छ । त्यसकालागि प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ५ : ३० बजेका लागि बोलाइएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१