राष्ट्रिय सभा अध्यक्षसँगको बैठकमा सिटौलाले भने : धन्यवाद प्रस्तावमा अवरोध रहन्छ

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालको पहलमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग संसद भवन बानेश्वरमा छलफल भएको छ। छलफलमा सरकारको नीति तथा कार्यक्रमको संयुक्त बैठक र त्यसपछिको राष्ट्रिय सभाको बैठक सञ्चालन गर्नेबारे छलफल भएको हो।

बैठकमा अध्यक्ष दाहालले भने,‘राष्ट्रिय सभाको गरिमा, पहिचान स्थापित गर्नका लागि तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो हुँदैन। हामी आफै निर्णय गर्न सक्छौं भन्ने सन्देश दिन जरूरी छ। प्रतिनिधि सभामा हुने सहमति असहमति उहाँहरूले उतै मिलाउनु हुन्छ । हामी परिपक्व र विज्ञ सभाका सदस्यहरूले हाम्रो परिपक्वता देखाउने यस्तै अवस्थामा हो। त्यसैले बैठक सुचारू गर्न प्रतिपक्षमा रहनुभएका माननीयज्यूहरूले सहयोग गर्नुहोस्।’

बैठकमा कांग्रेस तर्फबाट संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले भने,‘संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा हामी अवरोध गर्दैनौं । धन्यवाद प्रस्तावका लागि बस्ने राष्ट्रिय सभा बैठकमा हाम्रो अवरोध रहन्छ । यो हाम्रो पार्टीको निर्णय हो ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१