सन्दीप लामिछानेको मुद्दा ‘हेर्दाहेर्दैमा’

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । मंगलबार जारी बहस नसकिएपछि उनकाे मुद्दा बुधबारका लागि हेर्दा हेर्दैमा परेकाे हाे ।

उनकाे मुद्दाकाे न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ ।

क्रिकेटर लामिछाने जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग राखी उच्च अदालत पाटन पुगेका थिए ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम् सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ ।

जिल्ला अदालत काठमाडौंले आफ्नो मागदाबी भन्दा कम सजाय तोकेको भन्दै सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको थियो ।

मंगलबार सरकारका तर्फबाट रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरेका थिए । उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस गरे ।

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,कृष्ण सापकोटा, मुरारी सापकोटा,सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका थिए । लामिछाने निर्दोष भएको र उनले जबरजस्ती नभई सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी उनीहरूको थियो ।

लामिछाने पक्षको बहसपछि सरकारको तर्फबाट महर्जन र घिमिरेले जवाफ दिएका थिए । त्यसपछि गौसला २६ का तर्फबाट बहस सुरु भएको थियो । उक्त बहस जारी रहँदा मुद्दा हेर्दाहेर्दै राखिएको छ । बुधबार उनीहरुकै बहसबाट सुनुवाइ सुरु हुनेछ ।

त्यसपछि लामिछानेको तर्फबाट जवाफ दिइनेछ । उक्त जवाफ आएपछि न्यायाधीशद्वयले फैसला सुनाउनेछन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१