• २०८३ असार १७
  • 2026 July 01, Wednesday

उर्जा उत्पादकसँग दश वर्ष कर नलिने नीति माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले आगामी दश वर्ष बजेटमार्फत उर्जा उत्पादकहरुलाई कर छुटको माग गरेका छन् ।आज इप्पानको २२औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले सरकारको २०३५ सम्ममा २८ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न विदेशी लगानी भित्र्याउनुपर्ने आवश्यकता औंल्याउँदै सरकारसँग करमा दश वर्ष छुट गरिदिन माग गरे ।

‘हामीलाई २०८२ सालसम्म उत्पादन हुने विद्युतको पहिलो दश वर्षको लागि ट्याक्स फ्रि थियो । त्यसपछि पछिल्लो पाँच वर्षको लागि पचास प्रतिशत कर छुट थियो । ०८२ सालमा त्यसको म्याद सकिँदै छ । हाम्रो लक्ष्य २०३५ सम्ममा २८ हजार मेगावाट विद्युत उत्पादन गरिसक्नुपर्ने भएकाले ०९२/९३ सम्म बजेटमार्फत ट्याक्स छुटको म्याद बढाइदिए उर्जा क्षेत्रमा अझ धेरै लगानी लयाउन सकिने छ ।’
साथै उनले धितोपत्र बोर्डले दुई अर्ब भन्दा माथिका कम्पनीहरुलाई विदेशी स्टक मार्केटमा सूचीकृत गर्ने नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

कार्कीले भने, ‘आवासीय नेपालीहरुलाई पनि उर्जा क्षेत्रमा लगानी गर्न धितोपत्र बोर्ड मार्फत बजारमा आउने र दुई अर्ब भन्दा माथिका कम्पनीहरुलाई कम्तीमा विदेशी स्टक मार्केटमा सूचीकृत गर्न नीतिगत निर्णय भैदिए सजिलो हुनेछ ।’

यस्तै अध्यक्ष कार्कीले सरकारले छिटो उर्जा सुरक्षा नीति घोषणा गरेर लगानीकर्ताका लागि सुरक्षाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् । उनले आगामी १० वर्षलाई बजेटमार्फत उर्जा दशक घोषणा गर्न समेत सरकारसँग माग गरे ।