• २०८३ असार १३
  • 2026 June 27, Saturday

पर्यटकहरूलाई दुःख हैरानी दिने सात जना प्रहरी नियन्त्रणमा

काठमाडौ । सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिएको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–४ बस्ने ३८ वर्षीय यमबहादुर बिक, सोही महानगरपालिका–९ बस्नेहरू २८ वर्षीय सागर क्षेत्री, २९ वर्षीय बिक्रम सुनार, २४ वर्षीय अर्जुन सेन्चुरी तथा २० वर्षीय लक्ष्मण सिंह छन् ।

यस्तै, सोही महानगरपालिका–७ बस्ने २२ वर्षीय विकास श्रेष्ठ र वडा नम्बर २६ बस्ने २८ वर्षीय साजन परियार रहेका छन् ।
पक्राउ परेका उनीहरुले पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोक, बसपार्क एरियामा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आफु अनुकूलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाई गर्ने तथा लागूऔषधजन्य पदार्थ सेवन गरी होहल्ला गरी स्थानीयवासीहरूलाई दुःख हैरानी दिईरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

सोमबार पक्राउ परेका सातै जनामाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा सात दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।