‘निर्देशक बन्ने सपना छ तर अभिनयमै व्यस्त हुनुपरेको छ’

काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र विकास बोर्ड जबसम्म स्वयत्त हुँदैन तबसम्म नेपाली चलचित्र क्षेत्रले सोचेअनुरुप विकास गर्न नसक्ने बताएका छन् । वोर्डलाई स्वायत्त बनाउनेगरी छलफल भइरहेपनि राजनीतिक भागवण्डा हुँदा समस्या आउने गरेको उनले बताए ।

‘हाम्रोमा के परिपाटी भयो भने जुन मन्त्रालयहरु छन् त्यहाँ पार्टीको भागवन्डा हुनेगर्छ । विच विचमा सरकार पनि परिवर्तन भइरहन्छ । बोर्ड र मन्त्रालयबीच निरन्तर समन्वय हुने अवसर नै मिल्दैन । जसका कारण चलचित्र क्षेत्रको विकासमा पर्याप्त काम गर्ने मौका मिल्दैन । यसमा हामी सबै गम्भीर बन्नुपर्छ,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा राईले भने ।
अभिनेता राईले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा नेपाली फिल्महरुले सहभागिता जनाउँदा कस्तो फाइदा हुन्छ भन्ने कुरा नै सरकारी निकायले चासो नदिएको गुनासो गरे । ‘पहिलो कुरा त अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा जादा के हुन्छ, के उपलब्धी हुन्छ भन्ने कुराहरुको हामीलाई सामान्य ज्ञान पनि छैन् । त्यो बुझ्ने प्रयास कतिको भइरहेको छ भन्ने कुरा पनि हामीले हेक्का राख्नुपर्छ,’ उनले भने ।

फिल्म किन र केका लागि बनाइन्छ भन्ने कुराको बुझाईमा कमी रहेको जनाउँदै राईले अन्तर्राष्ट्रिय स्तरमा नेपाली फिल्मको प्रवद्र्धन गर्नुपर्छ भन्ने स्पष्ट नीति सरकारले बनाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अन्य देशहरुले आफ्नो स्टलहरु राखेर आफ्नो देशको प्रवद्र्धन गरिरहेको आफुले प्रशस्त देखेर आएको पनि सुनाए ।
हिजोआज दयाहाङ नयाँ फिल्मको सुटिङमा छैनन् । ‘यो गाउँको बाटो’को प्रमोशनमा र मण्डलाको व्यवस्थापनमा व्यस्त रहेको सुनाए । फुर्सदको समय स्क्रिप्टको पूर्व तयारीहरु गरिरहेको बताए ।

आफ्नो फिल्म ‘कवड्डी ४’ राम्रो प्रदर्शन भएर व्यवसायिक सफलता हासिल गरेको सुनाउँदै अभिनेता राईले गत सालका प्रदर्शनमा आएका आफ्ना नौं फिल्ममध्ये तीन वटा फिल्मले लगानी उठाउन नसकेको र बाँकी ६ वटाले लगानी सुरक्षित गरेको बताए । ‘यस बर्ष माहोल राम्रो छ । निकै धेरै फिल्महरुमा मैंले काम गरिसकेको छु । अवस्था उत्साहजनक छ । व्यवसायिक रुपमा सफलता मिल्छजस्तो लाग्छ । विदेशमा प्रदर्शन हुने गरेका नेपाली फिल्मले राम्रो कलेक्सन गरिरहेका छन् । धेरै फिल्मले राम्रोसँग लगानी सुरक्षित गर्न अवसर पाएका छन्,’ उनले भने ।

‘साम्बाला’, ‘गाँउ आएको बाटो’ जस्ता फिल्म विश्व बजारका मञ्चहरुमा जस्तो बर्लिन फिल्म फेस्टिभलमा साम्बालाले मुख्य प्रतिस्पर्धामा सहभागी भएको, गाउँ आएको बाटो टोरोन्टो फिल्म फेस्टिभलमा अफिसियल छनोट भएको, रेड सुट्केशले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनो हुने अवसर पाएकाले नेपाली फिल्महरु अन्तर्राष्ट्रिय जगतमा राम्रो उपस्थिति देखाइरहेको उनले बताए ।

विभिन्न प्रविधिहरुका कारण फिल्म हलमै पुगेर फिल्म हेर्नुपर्ने बाध्यता हिजोआज नरहेको उल्लेख गर्दै अभिनेता राईले मानिसहरुले जहाँ जुन अवस्थामा पनि फिल्म हेर्नसक्ने बताए ।भविष्यमा फिल्ममा अभिनय मात्र गर्ने कि निर्देशक र निर्माताको भूमिका निर्वाह गर्ने भन्नेमा अहिले नै सोच्न नसकेको उनले सुनाए । ‘भविष्य कतातिर जान्छ अहिले थाहा हुँदैन । मेरो सपना निर्देशक बन्ने नै हो । कुनै समय फिल्म डाइरेक्सन गर्छु भन्ने थियो । तर निर्देशन गर्नु अथवा त्यो जिम्मेवारी लिनको लागि लामो अभ्यास, सोच पहिला आउनुपर्छ । अहिले चाहीं म अभिनयलाई नै निरन्तर रुपमा अगाडि बढाउछु,’ उनले आगामी योजनाबारे भने ।

‘दास ढुङ्गा’, ‘ताम्रो’ ‘लुट’ जस्ता फिल्मले आफूलाई स्थापित गराएको सुनाउँदै राईले ‘हाइवे’, ‘गाउँ आएको बाटो’ले आफूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग गरेको सुनाए । उनले नव आगन्तुक कलाकारहरुलाई चर्चित हुन नभइ मेहेनत गर्नका लागि कला क्षेत्रमा प्रवेश गर्न सुझाव दिए ।‘आवश्यक तालिम, सीप, अध्यन के के आवश्यक पर्छ त्यसमा मेहेनत गर्नुपर्छ । पहिलो कुरा त उद्देश्य स्पष्ट बनाएर आउनुपर्छ । कलाकार भइसकेपछि चर्चित एकातिर होला तर काम र निरन्तरता एकातिर राख्नुपर्छ । कामलाई ध्यान दिने हो त्यो पनि सोच्नुपर्छ,’ उनले भने ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१