१३ करोडको लागत लिफ्टसहितको प्रशासकीय भवन निर्माण धमाधम

काठमाडौ । रौतहटको माधवनारायण नगरपालिका नगर प्रमुख बैजनाथ प्रसाद यादवले प्रशासकीय भवन निर्माणको काम गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।माधवनारायण नगरपालिका–६ माधोपुर बजार भन्दा दक्षिण अस्पतालको नजिक नगरपालिकाको प्रशासनिक भवनको स्थलगत निरीक्षण गर्दै उनले सो निर्देशन दिएका हुन् ।

प्रशासकीय भवन निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेकोमा खुसी व्यत गर्दै उनले निर्माणका काममा कुनै प्रकारको कमसल सामग्री प्रयोग नगर्न आग्रह गरे ।
यद्यपी, गुणस्तरहीन काम गरेको पाइए कडा कारबाही गर्ने चेतावनी समेत उनले दिए । पालिकाको १३ करोडको लागतमा उक्त भवन निर्माण भइरहेको मेयर यादवले बताए ।
साढे दुई वर्षभित्रमा भवनको निर्माण कार्य सकिने लक्ष्य राखिएको उनले जानकारी दिए । उनका अनुसार कम्पाउण्डवाल सहित कुल २५ वटा भन्दा बढी कोठा भएको

अत्याधुनिक डिजाइनको साढे तीन तलाको सुविधायुत प्रशासकीय भवन निर्माण हुनेछ ।
लिफ्टसहितको प्रशासकीय भवन निर्माण गर्ने जिल्लामा माधवनारायण नगरपालिका पहिलो पालिका हुनेछन् । जिल्लाको अहिलेसम्म कुनै पनि पालिकाको प्रशासकीय भवनमा लिफ्टको सुविधा छैन ।२०७४ सालमा स्थानीय तहको स्थापना भएदेखि नै माधवनारायण नगरपालिका कार्यालयको आफ्नो भवन नहुँदा भाडाको घरमा सञ्चालन हुँदै आएको छ । तर नगर प्रमुख यादवले निःशुल्क जग्गा उपलब्ध गरापछि अहिले माधवनारायण नगरपालिकाको प्रशासकीय भवन निर्माण भइरहेको छ ।

भवनमा मेयर र उपमेयरको अलग कार्यकक्षसहितको सचिवालय कक्ष, न्यायिक समितिको कार्यकक्ष, सभाहल, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, पालिका अन्तर्गतका सबै विषयगत शाखाका अलगअलग कार्यकक्ष, स्तनपान कक्ष, सेवाग्राही अपांगमैत्री ग्राउन्ड फ्लोर र शौचालय आदि निर्माण हुनेछन् ।भवनमा अपांग, अशक्त, बिरामी र वृद्धवृद्धालाई तलबाट माथि र माथिबाट तल ओहोर दोहोर गर्न सहज होस भन्ने उद्देश्यले लिफ्टको समेत व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१