‘सबैभन्दा सजिलो व्यवसाय भ्रष्टाचार’ राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा तीनै तहका सरकार, संवैधानिक अंग र निकायहरु भ्रष्टाचारले आक्रान्त भएको टिप्पणी गरेका ।आज राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा उनले भ्रष्टाचार सबैभन्दा सजिलो व्यवसायको रुपमा विकसित हुँदै आएको भन्दै सत्ता शक्तिको फाइदा उठाएर भ्रष्टाचार अनुकूल कानून निर्माण गर्ने तहसम्म पुगेको बताए ।

उनलो भने, ‘भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासन अहिले तीनै तहका सरकार, संवैधानिक अंग र निकायहरु भ्रष्टाचारले आक्रान्त छ । खासगरि २०४६ सालको राजनीतिक परिवर्तन पछि अनेक रुप र स्वरुपमा भ्रष्टाचार सबैभन्दा सजिलो व्यवसायको रुपमा विकसित हुँदै आएको छ । भ्रष्टाचार सामान्य लिने दिने, कुरामा मात्र सीमित छैन । संगठित रुपमा ऐन कानूनको फाइदा लिने, सत्ता शक्तिको फाइदा उठाएर भ्रष्टाचार अनुकूल ऐन कानून नै निर्माण गर्ने तहसम्म पुगेको छ ।’

यस्तै, उनले न्यायालय तथा संवैधानिक अंगहरुमा दलकै सिफारिसमा नियुक्त मानिस भएको भन्दै भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध दृढ रुपमा उभिन राप्रपाले अठोट गरेको बताए ।उनले भने, ‘मुलुकमा भ्रष्टाचार संस्थागत जस्तै भएको छ । सबैजसो मुख्य राजनीतिक दलहरुको सबैजसो सदस्यहरुको भ्रष्टाचारमा संलग्नता छ । न्यायालय तथा संवैधानिक अंगहरुमा दलकै सिफारिसमा नियुक्त मानिसहरु भएका कारण भ्रष्टाचारीहरु पूर्ण रुपमा कम हुने सम्भावना न्यून छ । त्यसकारण भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्ध दृढ रुपमा उभिन राप्रपाले अठोट गरेको छ ।’

सत्ता स्वार्थमा बसेर दलहरुले गर्ने क्रियाकलापले विश्व समुदायमा नेपालको विश्वसनियता कमजोर बन्दै गएको भन्दै वैदेशिक सम्बन्धमा दल र सत्ता होईन, देश हुनुपर्ने पनि उनको भनाई छ ।उनले भने, ‘नेपालमा वैदेशिक हस्तक्षेप र चलखेल व्यापक रुपमा बढेको छ । सत्ता स्वार्थका लागि जोसँग जस्तो पनि सम्बन्ध राख्ने प्रवृत्तिका कारण विश्व समुदायमा नेपालको विश्वसनियता कमजोर बन्दै गएको छ । सत्ता पक्ष र प्रमुख दलहरुको क्रियाकलापका कारण विग्रिने सम्बन्ध र भोग्नु पर्ने क्षती केवल ती दलहरुले मात्र होईन सबै नेपाली जनताले हो । त्यसकारण वैदेशिक सम्बन्धमा दल र सत्ता होईन्, केन्द्रमा देश हुनुपर्छ ।’

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१