काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सवारी साधनमा प्रयोग भइरहेको कालो सिसा (टिन्टेड ग्लास) हटाउने सम्बन्धमा छलफल भएको छ ।
असार १५ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटी यस विषयमा विस्तृत छलफल गरेको हो ।
छलफलका क्रममा ट्राफिक प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा नभएका र आपराधिक क्रियाकलापमा समेत प्रयोग भइरहेका कारण सवारी साधनबाट कालो सिसा हटाउन लागिएको जानकारी दिए । उनले सवारी व्यवस्थापन ऐन २०४९ को व्यवस्था अनुसार नै कालो सिसा हटाउने कार्य सुरु गरिएको स्पष्ट पारे ।
काफ्लेका अनुसार सवारी साधनको अगाडिको सिसामा कुनै पनि प्रकारको स्टिकर टाँस्न पाइने छैन । यसबारे सवारी साधन पैठारीकर्ताहरूले खरिदकर्तालाई पूर्वजानकारी गराउनुपर्ने र यदि कसैले कालो सिसा प्रयोग गर्न चाहेमा सरकारको अनिवार्य अनुमति लिनुपर्ने प्रावधान रहेको उनले बताए । साथै, म्यानुफ्याक्चरिङ कम्पनीबाटै कालो सिसा भएका सवारी साधन आयात नगर्नसमेत उनले आग्रह गरे ।
छलफलमा नाडाका अध्यक्ष उप्रेतीले सवारी साधनमा पछि टाँसिएका कालो स्टिकर हटाउन कुनै प्राविधिक समस्या नरहेको र यसलाई प्राथमिकताका साथ हटाउन सकिने धारणा राखे ।
त्यस्तै, नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले अर्को चरणमा अटोमोबाइल म्यानुफ्याक्चरिङ कम्पनीबाटै जडान भएर आएका सवारी साधनको हकमा भने त्यस्ता साधनको संख्या यकिन गरेर मात्र प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिए । छलफलमा नाडाका उपाध्यक्ष अभीक ज्योति लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।