काठमाडौँ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक सुपरिवेक्षणपछि देशका विभिन्न लघुवित्त वित्तीय संस्थामाथि कडा नियामकीय कारबाही गरेको छ। नियामक निकायले तोकेको न्यूनतम पूँजीकोष अनुपात कायम गर्न नसकेको, संस्थागत सुशासन कमजोर देखिएको तथा वित्तीय अनुशासन र निर्देशन उल्लंघन भएको निष्कर्षसहित राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाहीदेखि सचेत गराउनेसम्मका निर्णय गरेको हो।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागका अनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था तथा सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले न्यूनतम पूँजीकोष अनुपात कायम गर्न असफल भएका छन्। ती संस्थाहरूको पूँजीकोष अनुपात क्रमशः ७.७७ प्रतिशत, ६.०६ प्रतिशत, ६.१२ प्रतिशत, ६.०१ प्रतिशत र ६.२० प्रतिशत रहेको पाइएको राष्ट्र बैंकले जनाएको छ। यो नियामकीय मापदण्डभन्दा कम हो।
यस आधारमा उक्त पाँचै लघुवित्त संस्थामाथि “बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४” बमोजिम शीघ्र सुधारात्मक कारबाही गरिएको छ। कारबाहीपछि ती संस्थाहरूले कुनै पनि प्रकारको नगद लाभांश वा बोनस सेयर घोषणा गर्न पाउने छैनन्। साथै नयाँ शाखा विस्तारमा रोक लगाइएको छ भने सञ्चालक समिति तथा उच्च व्यवस्थापनको तलब, भत्ता तथा सुविधा वृद्धि गर्न समेत निषेध गरिएको छ। राष्ट्र बैंकले यी संस्थाहरूलाई पूँजी वृद्धि योजना तत्काल पेश गर्न निर्देशन दिँदै सुधारात्मक कार्ययोजना तयार गर्न समेत आग्रह गरेको छ।
पूँजीकोष मात्र होइन, केही लघुवित्त संस्थामा संस्थागत सुशासन र आन्तरिक व्यवस्थापनसम्बन्धी गम्भीर त्रुटिहरू पनि भेटिएका छन्। बागलुङस्थित धौलागिरि लघुवित्त वित्तीय संस्थामा कर्मचारी सेवा विनियमावली विपरीत नायब कार्यकारी अधिकृतलाई पुनर्बहाली गरिएको तथा स्पष्ट आधार बिना सेवामा नरहेको अवधिको पारिश्रमिक भुक्तानी गरिएको पाइएको छ। यस प्रकरणमा संस्थाकी अध्यक्ष सिर्जना थापा सहित सञ्चालकहरू सुमन प्रसाद श्रेष्ठ, जीवन आचार्य, सालिक राम शर्मा, चेत प्रसाद सापकोटा, गणेश पौडेल र रेशम लाल सापकोटालाई राष्ट्र बैंकले सचेत गराएको छ।
त्यस्तै पोखरास्थित सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थामा आर्थिक प्रशासन विनियमावलीमा तोकिएको खर्च सीमा र अख्तियारीको पालना नगरी सवारी साधन खरिद गरिएको भेटिएपछि सो संस्थाका सञ्चालक समिति पनि सचेत गराइएको छ। उक्त समितिमा अध्यक्ष पद्मनाथ शर्मा सहित प्रा.डा. तरुण पौडेल, लक्ष्मण खड्का क्षेत्री, जीवन प्रसाद पौडेल, सुमन घर्ती क्षेत्री, मुनादेवी खनाल र दिलीप पौडेल रहेका छन्।
यसैगरी नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याललाई समेत राष्ट्र बैंकले सचेत गराएको छ। संस्थाले कर्जा नोक्सानी व्यवस्थाबाट करिब ८१.५५ करोड रुपैयाँ फिर्ता गरी आम्दानीका रूपमा लेखांकन गरे पनि उक्त रकम कुन-कुन ऋणीसँग सम्बन्धित हो भन्ने स्पष्ट विवरण यकिन नगरी राष्ट्र बैंकको निर्देशन विपरीत कार्य गरेको पाइएको हो। यसलाई वित्तीय पारदर्शिता र नियामकीय अनुशासनको उल्लंघन मान्दै भविष्यमा यस्तो कार्य नदोहोऱ्याउन चेतावनी दिइएको छ।
राष्ट्र बैंकले यी सबै घटनालाई व्यक्तिगत त्रुटि मात्र नभई लघुवित्त क्षेत्रभित्र देखिएको संरचनागत समस्या, कमजोर जोखिम व्यवस्थापन र सुशासन अभावको संकेतका रूपमा लिएको छ। नियामक निकायले यस्ता कमजोरीले समग्र वित्तीय प्रणालीमा असर पार्ने भएकाले कडाइ गरिएको स्पष्ट पारेको छ।
कारबाहीमा परेका संस्थाहरूले अब सुधारात्मक योजना कार्यान्वयन गर्नुपर्नेछ भने राष्ट्र बैंकले नियमित अनुगमन जारी राख्ने जनाएको छ। आवश्यकता परे थप कडा नियामकीय कदम चालिने समेत राष्ट्र बैंकले संकेत गरेको छ।