जेठ अन्तिममा इलाममा चिया महोत्सव हुँदै

काठमाडौ। यही महिनाको अन्तिम साता इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सवको आयोजना गरिन लागेको छ । यही जेठ २६ देखि २८ सम्म महोत्सव आयोजना गरिन लागेको इलाम नगरपालिकाले जनाएको छ ।

इलाम नगपालिकाका प्रमुख केदार थापाले नेपाली चियाको गुणस्तर विश्व बजारमा चिनाउन अन्तर्राष्ट्रिय महोत्सव आयोजना गरिएको बताए । थापाका अनुसार, चिया उद्योगी, व्यवसायी किसान तथा अन्तर्राष्ट्रिय चिया पारखी र व्यवसायीलाई समेट्ने गरी महोत्सवको तयारी भएको छ ।

नेपालको चिया विश्वमा नै स्वादिष्ट र अग्र्यानिक मानिए पनि प्रचारप्रसार नहुँदा किसान तथा व्यापारीले कम मूल्यमा बिक्री गर्नुपरिरहेको गुनासो बढेको छ । नगरपालिकाले यही कुरालाई महत्व दिएर चिया महोत्सव आयोजना गरेको हो । चियालाई विदेश निर्यात गर्न सके विदेशी मुद्रा आर्जन प्रमुख स्रोत बन्ने थियो भन्ने सोचका साथ चियाको बजार खोज्ने र किसानलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यलाई यो महोत्सवले मद्दत गर्ने अपेक्षा गरिएको प्रमुख थापाको भनाई छ ।

सदरमुकाम बजारमा हुने महोत्सवको संयोजन नगरप्रमुख थापाको संयोजकत्वमा बनेको समितिले गरिरहेको छ । इलाम उद्योग वाणिज्य सङ्घसँगको सहकार्य र नेपाल पर्यटन बोर्डको सहयोगमा महोत्सव व्यवस्थापन भएको छ । चियासँग सम्बन्धित विभिन्न सङ्घसंस्था, चिया किसान र व्यवसायी महोत्सवमा सहभागी हुनेछन् ।

महोत्सवपछि चिया किसान, व्यापारी र विदेशी चिया व्यापारीबीचको दूरी कम हुँदै जाने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेलले बताए ।बिसं १९२० सालमै चिया रोप्न सुरु भएको इतिहास बोकेको इलाममा सबैभन्दा पुरानो प्रविधिमा चल्ने चिया प्रशोधन कारखाना रहेको छ ।

तर चिया बिकास निगमलाई निजी क्षेत्रको हातमा सुम्पिएपछि त्यो पुरातात्विक महत्वको कारखाना असुरक्षित बनेको छ भने चिया संग्राहलय बनाउन चाहने व्यवसायीलाई त्यसको दायित्व सुम्पन सरकारको सम्बन्धित निकाय उदासिन देखिन्छ ।इलाम सहित सरकारको स्वामित्वमा बिकसित भएको चिया खेती सांघाई समूहलाई निकै सस्तो मूल्यमा हजारौं रोपनी जमिन सहित लामो समयका लागि लिजमा दिईएपछि त्यसको उचित सम्भार हुननसकेको स्थानीयको भनाई छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१