बिर्तामोडमा हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौ। बिर्तामोड नगरपालिका–४ कालिका नगरका ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिस्टको हत्या भएको २० दिनपछि घटनामा संलग्न भएको आरोपमा आज प्रहरीले बिर्तामोडका गङ्गा राजबंशी र महेश राजबंशीलाई पक्राउ गरेको हो । त्यसबारे बिस्तृत जानकारी दिन आजै दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो । हत्याराको खोजीका लागि प्रहरीका चार वटा टोली लगातार खटिएका थिए । कुनै सुराक फेला पार्न नसकेका कारण केही ढिला आरोपी पक्राउ परेको प्रहरी स्रोतको दाबी छ । घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय बिर्तामोडको गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका थिए ।

बैशाख २६ गते घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन् । उनको खन्तीले हानेर हत्या गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही सङ्केत मात्र दिएको थियो।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१