अनुमति नै नलिइ सगरमाथाको कालापत्थरमा रेस्लिङ खेल आयोजना

काठमाडौं । विश्व कीर्तिमान कायम गर्ने हाेडबाजीमा अनुमति नै नलिइ सगरमाथाको कालापत्थरमा रेस्लिङ खेल आयोजना गरिएको छ ।

नेपाल महिला रेस्लिङ फाउण्डेशनले गत मे २९ मा सगरमाथा दिवसको अवसरमा कालापत्थरमा अवैध रेस्लिङकाे आयाेजना गरेकाे हाे ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको नाममा गरिएको उक्त रेस्लिङ आयोजना गर्न कुनै अनुमति लिने वा दिने काम नभएको पर्यटन विभागले जनाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जले पनि रेस्लिङको लागि कुनै अनुमति नदिएकाे बताएकाे छ ।

पर्यटन विभाग र सगरमाथा राष्ट्रिय निकुञ्जबाट अनुमति नलिइ सगरमाथा राष्ट्रिय निकुञ्जभित्र कुनै पनि गतिविधि गर्न पाइँदैन ।

आयोजकले भने विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गरेको दाबी गरेकाे छ । तर अनुमति नै नलिइ उक्त कार्यक्रम गरिएकाले त्यसलाई मान्यता दिन नसकिने निकुन्जको भनाइ छ ।

नेपाल महिला रेस्लिङ फाउण्डेशनका अध्यक्ष भगवती खड्काले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति लिएको र पर्यटन विभागलाई पनि यसबारे जानकारी गराएर उक्त प्रतियोगिताको आयोजना गरेको दावी गरेकी छन् ।

नेपालको पहिलो महिला रेस्लर भगवती खड्का र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो) बीच सम्पन्न मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपालकी भगवती खड्का बिजयी भएको दावी गरिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१