झोलुङ्गे पुलमा फसेका १३ खच्चडमध्ये ११ को सकुशल उद्धार, दुईवटाको मृत्यु

काठमाडौं । दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा पुलमै फसेका १३ वटा खच्चड उद्धार गरिएको छ । सुरुमा टुचनले पुल सोझ्याउन खोज्दा पनि धेरै लोड भएका कारणले नसकिँदा पुलको तार काटेर नदीमा खसालेर डुंगाबाट उद्धार गरिएको थियो ।

फसेकामध्ये ११ वटाको सकुशल उद्धार गरिएको छ । लोड कम भएपछि ३ वटालाई तारको सहायताबाट नदीमा नखसालि पुलबाटै उद्धार गरिएको हो भने ८ वटालाई नदीमा खसालेर उद्धार गरिएको हो । बाँकी २ वटा नदीमा खस्दा ढुंगामा बजारिएपछि मृत्यु भएको दैलेख प्रहरी नायब उपरिक्षक (डीएसपी) सुनिल दाहालले बताए ।

आइतबार बिहान करिब १० बजेको समयमा सामग्री बोकेर हिँडिरहेका खच्चड पुलमै अड्किएका थिए । उक्त पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरू एकैपटक चढ्न थाल्दा लठ्ठा चुँडिदा खच्चड अड्किएको जिल्ला प्रशासन कार्यलय दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बताएका हुन् ।

उक्त झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई पनि जोड्ने गर्दछ । पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१