यसपाली विगतभन्दा बढी बर्षा, यसकारण प्रभावित हुनेछ उडान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँकी इन्चार्ज एवम वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले आगामी केही दिनसम्म मनसुनी वायु सक्रिय रहने बताएकी छिन् ।

विहीबार उनले मनसुनी वायु सक्रिय रहने र भारी वर्षा हुने देखिएको हुनाले सतर्कता अपनाउन आग्रह गरेकी छन् ।उनले भनिन्, ‘विगत केही दिनदेखि देशभर नै विभिन्न स्थानमा वर्षा भइरहेको अवस्था छ । आगामी केही दिन मनसुनी वायु सक्रिय नै रहने र भारी वर्षा हुने देखिएको हुनाले सतर्कता अपनाउन आग्रह गर्न चाहान्छु । यसपाली औसत अथवा औसतभन्दा बढि नै वर्षा हुने सम्भावना छ ।’

उनले विशेषगरी कोशी र मधेश प्रदेशमा बढी वर्षाको सम्भावना रहेको तराईका जिल्लाहरुमा बाढीको सम्भावना वढीरहेको पनि बताइन् ।उनले भनिन्, ‘विशेषगरी कोशी र मधेश प्रदेशमा धेरै वर्षाको सम्भावना रहेको छ । अहिलेको वर्षाको अवस्था हेर्दा तराइका जिल्लाहरुमा बाढीको सम्भावना बढी नै देखिएको छ । बागमती र गणकी प्रदेशमा पनि वर्षा राम्रै हुने देखिएको छ । गण्डकी भनेको मनसुनमा बढी नै पानी पर्ने प्रदेश हो । त्यतातिर पनि पहिरो र बाढीको सम्भावना धेरै देखिन्छ ।’

हालको अवस्थामा हेर्ने हो भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा हल्का खालको वर्षा भइरहेको अवस्था छ । भने विहीबार राती कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम सम्बन्धी जानकारी लिनको लागि विभागले टोल फ्रि नम्बरको पनि व्यवस्था गरेको छ ।‘मनसुन सक्रिय हुँदा वर्षाका कारण उडानहरु धेरै प्रभावित भइ रहने हुन्छ । विशेष गरेर आन्तरिक उडानमा यस्तो समस्या धेरै आउने हुन्छ । किनभने आन्तरिक उडान पहाडी क्षेत्रतिर धेरै हुने गरेको पाइन्छ ।

यसको साथै अन्तर्राष्ट्रिय उडानमा पनि निरन्तरको वर्षाले असर पार्छ,’ उनले भनिन्, यसको साथै, हवाइ सँगसँगै सडकमा हिन्ने सवारी साधनको लागि पनि भारी वर्षा सुरक्षित नहुने भन्दै विभागले दिएका सूचनाहरुलाई हेरेर नै घरबाट निस्किन पनि विभागले आग्रह गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१