• २०८३ जेठ २५
  • 2026 June 08, Monday

सेनाले गर्दै आएको विकास निर्माणको काममा बजेट अभाव नहुने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पनि नेपाली सेनाले गर्दै आएको काममा बजेट अभावका कारण कुनै समस्या नहुने बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिदैँ उनले नेपाली सेनाबाट माग भए बमोजिम विगतमा पनि बजेट व्यवस्थापन भइरहेको तथा भविष्यमा समेत बजेट कमी हुन नदिने विश्वास व्यक्त गरेका छन् ।

उनले भने, ‘छुट्टै बजेट शीर्षकको सन्दर्भमा रक्षा मन्त्रालय (नेपाली सेना) बाट कार्यान्वयन भइरहेको तराई–मधेश द्रुतमार्गबाहेक अन्य कुनै पनि नेपाली सेनाले निर्माण गर्ने सडकहरुमा छुट्टै बजेट उप–शीर्षक कायम भएको अवस्था छैन ।

तथापि यथेष्ट बजेट विनियोजनका सन्दर्भमा भने बजेट अभावका कारण कार्य प्रगतिमा कुनै कमी हुन नदिन नेपाली सेनाबाट माग भए बमोजिम नै विगतमा पनि बजेट व्यवस्थापन भइरहेको तथा भविष्यमा समेत बजेट कमी हुन नदिने विश्वास दिलाउन चाहन्छु ।’

उनले महाकाली करिडोर आयोजनाअन्तर्गतको तुषारपानी–कोटेघर–टिंकर खण्डमा ८० प्रतिशत कडा चट्टान रहेको भन्दै विस्फोटक पदार्थको व्यवस्थापनको सहजता भई निर्माण कार्यमा कम समय लाग्ने र कार्यप्रगति छिटो हुने उद्देश्यका साथ नेपाली सेनामार्फत कार्यान्वयन भइरहेको पनि बताए ।