• २०८३ जेठ २५
  • 2026 June 08, Monday

सभापति दिपक बहादुर सिंहले गरे आँखा अस्पताललाई १० लाख सहयोग

काठमाडौं ।पूर्वाधार विकास समिति सभापति तथा प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिंहले हेटौंडा सामुदायिक आँखा अस्पताललाई झण्डै १० लाख रुपैँया रकम हस्तान्तरण गरेका छन् ।

मंगलबार तिलगंगा आखा अस्पतालका संचालक र योजनाकार नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुईत मार्फत विशेष कार्यक्रमका विच उनले ९ लाख ९९ हजार ९ सय ९९ रुपैँया हस्तान्तरण गरेका हुन् ।

आफुले नेपाल सरकारबाट प्राप्त गरेको एक वर्ष अवधिभरको ६ लाख १२ हजार तलबमा ३ लाख ८७ हजार रुपैँया थप गरी उनले सो रकम हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरणपछि पुर्वाधार विकास समिति सभापति तथा प्रतिनिधि सभा सदस्य सिंहले आफुलाई जनताले गरेको विश्वास र योगदानलाई सम्झिएर गरिब, दुःखी जनताको हितका लागि सहयोग गरेको बताए ।

उनले भने, ‘म जनताको कारणले माथि पुगेको हुँ । मैले जनतालाई साक्षी राखेर बोलेको कुरा पुर्याउन खोज्दैछु’ । साथै आँखा अस्पतालको सहयोगमा आफु सधैं तत्पर रहने उनले बताएका छन् ।

मकवानपुरको हेटौंडामा अवस्थित हेटौंडा सामुदायिक आँखा अस्पतालमा मकवानपुर सहित बारा,पर्सा, रौतहट र भारतबाट समेत विरामीहरु आँखाको जाँच गराउन आउने गरेका छन् । अस्पतालले निःशुल्क शिविर सञ्चालन गर्नुका साथै विरामीहरुलाई सहि र सुलभ ढङ्गले आँखाको रोगसम्बन्धी उपचार दिँदै आएको छ ।