काठमाडौं । अब ह्वाट्सएपमा कसैसँग कुराकानी गर्न वा नयाँ साथी थप्नका लागि आफ्नो व्यक्तिगत फोन नम्बर दिइरहनु पर्ने झन्झट हट्ने भएको छ। ह्वाट्सएपले ‘युजरनेम’ फिचर ल्याएको छ, जसले प्रयोगकर्ताको गोपनीयतालाई अझ बलियो र सुरक्षित बनाउनेछ।
यो सुविधा लागू भएपछि तपाईँले नचिनेका मानिस वा कुनै नयाँ ग्रुपमा जोडिनु पर्दा आफ्नो नम्बर सार्वजनिक नगरीकन युजरनेमको माध्यमबाट मात्रै कुराकानी गर्न सक्नुहुनेछ। विशेषगरी नम्बर साटासाट गर्न अप्ठ्यारो लाग्ने अवस्थामा यो फिचर निकै उपयोगी हुनेछ।
मेटा कम्पनीले अहिलेदेखि नै प्रयोगकर्ताहरूलाई आफ्नो मनपर्ने युजरनेम सुरक्षित गर्न सकिने व्यवस्था मिलाएको छ। ह्वाट्सएपमा अर्बौँ प्रयोगकर्ता भएकाले धेरैका नामहरू जुध्न सक्ने सम्भावना हुन्छ, त्यसैले कम्पनीले अहिले नै आफ्नो युनिक युजरनेम छान्न आग्रह गरेको छ।
यदि तपाईँले फेसबुक वा इन्स्टाग्राममा कुनै खास युजरनेम प्रयोग गरिरहनुभएको छ भने, त्यो नाम अरू कसैले लिइनसकेको अवस्थामा ह्वाट्सएपमा पनि दाबी गर्न सक्नुहुनेछ। सेलिब्रेटी, प्रख्यात व्यक्तित्व र सरकारी निकायका नामहरू भने अरूले प्रयोग गर्न नपाउने गरी कम्पनीले पहिले नै सुरक्षित राखिदिएको छ।
एन्ड्रोइड प्रयोगकर्ताहरूले ह्वाट्सएपको पछिल्लो संस्करणमा सेटिङ्स (Settings) > अकाउन्ट (Account) > युजरनेम (Username) मा गएर आफ्नो युजरनेम रिजर्भ गर्न सक्छन् । त्यस्तै, आईओएस (iOS) प्रयोगकर्ताहरूले You मा ट्याप गरी, आफ्नो प्रोफाइल छानेर, Create Username मा ट्याप गर्नुपर्ने हुन्छ ।
यो नयाँ व्यवस्थाले पुराना कुराकानी वा फोनमा सेभ भएका साथीहरूलाई कुनै असर गर्ने छैन।