काठमाडौं । इन्द्रेणी मसरुम फर्म पब्लिक लिमिटेडले सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । स्थापना काल (वि.सं. २०७१) देखि नै च्याउ खेती गर्दै आइरहेको ‘इन्द्रेणी मसरुम फर्म’ पहिलो पटक शेयर निष्काशन गर्ने तयारीमा रहेको छ ।
इन्द्रेणी मसरुम फर्मले नेपालको अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषि क्षेत्रमा क्रान्ति तथा देशको समग्र कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्याउने उद्देश्यले च्याउ खेती गर्दै आइरहेको छ ।
मकवानपुर जिल्ला, थाहा नगरपालिका, वडा नं.९, चित्लाङ्गस्थित इन्द्रेणी मसरुम फर्म पहिलो पटक नेपालमै अत्याधुनिक प्रविधिबाट व्यवसायिक रुपमा गोब्रे च्याऊ उत्पादन गर्ने उद्देश्यले स्थापना भएको हो । सो व्यवसायमा च्याउ खेतीसँग सम्बन्धित केही सफल व्यवसायिक व्यक्तिहरुको लगानीमा बनेको छ ।
इन्द्रेणी मसरुम फर्मले नेपालमा छरिएर रहेको कृषि व्यवसाय अन्तर्गत च्याउ उत्पादनमा रहेको अवसर र चुनौतीहरुलाई एकीकृत गरी संस्थागत व्यवस्थापनको माध्यमबाट मर्यादित र प्रतिस्पर्धी बनाई युवाहरुको आकर्षणको केन्द्रविन्दु बनाउन र कृषि क्षेत्रको दिगो विकासमा टेवा पुर्याउने उद्देश्य अनुसार काम तथा सो संग सम्बन्धित क्रियाकलापहरु गरिरहेको कम्पनीका अध्यक्षले बताए ।
इन्द्रेणी मसरुम फर्मले हाल व्यवसायिक रुपमा ५ प्रजातिको च्याउ खेती गरिरहेको छ । गोब्रे, ओइस्टर, शिताके, किङ्ग ओयष्टर, गानोडर्मामध्ये गोब्रे च्याउ सबैभन्दा लोकप्रिय छ । जसले देशको कुल च्याउ उत्पादनको ४५५ ओगटेको छ । उक्त बजारलाई मध्यनजर गर्दै यसबाट स्वास्थ्यलाई हुन सक्ने असंख्य लाभहरु तथा आर्थिक लाभ समेत लिन सक्ने भएकाले गोब्रे च्याउ उत्पादन गर्न कम्पनी स्थापित भएको थियो ।
देशमा बढ्दो बेरोजगारी र वैदेशिक रोजगारीमा युवा जनशक्ति पलायन हुने क्रममा इन्द्रेणी मुसरुम फर्मले प्रत्यक्ष तथा उप्रत्यक्ष रुपमा स्थानीय वासिन्दाहरुलाई रोजगारी दिइरहेको छ ।
हाल इन्द्रेणी मुसरुम फर्मले विभिन्न व्यवसायिक क्षेत्रका शेयरधनीहरुबाट १४ करोड लगानी जम्मा गरी चित्लाङ्गको १९ रोपनी जग्गामा ११ ओटा अत्याधुनिक उत्पादन कक्ष निर्माण गरि प्रत्येक दिन ६०० के.जी. गोब्रे च्याउ उत्पादन गर्दै आईरहेको छ । बजारमा हुने प्रति दिन १५ हजार के.जी. को माग आपूर्तिमा सहज पुग्ने गरि उत्पादन वृद्धि गर्न सर्वसाधारणहरुको तर्फबाट सहभागिता बढाउन आवश्यक रहेको इन्द्रेणी मुसरुम फर्मका अध्यक्षले बताए ।
अध्यक्षले भने, ‘‘निकट भविष्यमा कम्पनीले शेयर निष्काशन गरी सो बाट प्राप्त हुने रकमबाट मकवानपुर जिल्लाको हेटौंडाबाट पनि व्यवसायिक रुपमा विभिन्न प्रजातिको च्याउ उत्पादन शुरु गर्नुका साथै कोल्ड स्टोरको निर्माण गर्ने, प्रयोगशाला निर्माण गर्ने, च्याउ उत्पादन निमित्त मल बिउ र सामाग्री बिक्रि केन्द्र खोलि बिक्रि गर्ने, च्याउको सुकुटी, गुन्द्रुक, अचार तथा सूप उत्पादन गर्ने लक्ष्य छ।’’
चित्लाङ्ग र हेटौडाबाट उत्पादन शुरू भए पश्चात् दैनिक २,५०० के.जी. माथि च्याउ उत्पादन गर्ने योजना रहेको र यसले उत्पादनको लागतमा समेत कमी हुनआउने उनको भनाई छ ।
इन्द्रेणी मुसरुम फर्म कम्पनीले व्यवसायिक रुपमा च्याउ उत्पादन गरे देखिनै नेपालको कुल ग्रहयस्थ उत्पादन र कुल राष्ट्रिय उत्पादनमा टेवा पुर्याइरहेको छ । तत्पश्चात पनि कम्पनिले नेपाल सरकारबाट उचित अनुदान समयमा नपाउनु, बेला बखतमा कच्चा पदार्थ र मल नपाउनुका साथै छिमेकि देशहरुबाट लुकाई छिपाई नेपालमा भित्रिने च्याउ नै बजारको प्रमुख चुनौत रहेको कम्पनीका अध्यक्षले बताए ।
साथै, नेपाल सरकार तथा प्रदेश सरकारको कृषि सम्बन्धी आर्थिक तथा वित्तीय नीति नियममा आवश्यक शंसोधन गरी उचित अनुदान प्रक्रिया यथासिघ्र अघि बढाउनु आवश्यक रहेको अध्यक्षले बताए ।