• २०८३ साउन १२
  • 2026 July 28, Tuesday

विदेशी सम्बन्धनप्राप्त कलेजहरूबाट अब ४० प्रतिशत मात्रै क्रेडिट ट्रान्सफर

काठमाडौँ। विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चाल भइरहेका कलेजहरुबाट अब ४० प्रतिशत मात्रै क्रेडिट ट्रान्सफर गर्न मिल्ने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जारी गरेको विदेशी शैक्षिक कार्क्रयम (सञ्चालन र नियमन) नियमावली, २०८३ ले विदेशी सम्बन्धप्राप्त कलेजहरुबाट अध्ययनरत विद्यार्थीको निर्धारित पाठ्यक्रमको ४० प्रतिशतभन्दा बढी क्रेडिट ट्रान्सफर गर्न नमिल्ने व्यवस्था गरेको हो ।

नियमावलीमार्फत सरकारले पहिलो पल्ट क्रेडिट ट्रान्सफरको सीमा तोकेको हो ।

यसअघि २०५९ मा पहिलो पटक जारी गरिएको विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिकाले क्रेडिट ट्रान्सफरमा सीमा तोकेको थिएन । निर्देशिकाको दफा ४ को उपदफा (४) ले क्रेडिट ट्रान्सफरको विषय कलेज (नेपालमा सञ्चालित) र विदेशी विश्वविद्यालयबिच हुने सम्झौता पत्र वा साझेदारी पत्रममा खुलेको हुनुपर्ने व्यवस्था गरेको भएपनि कति क्रेडिटसम्म ट्रान्सफर गर्न सकिने सम्बन्धमा बोलेको थिएन ।

स्पष्ट कानुनी व्यवस्था नहुँदा क्रेडिट ट्रान्सफरमा एकरुपताको अभाव रहँदै आएको थियो । यसले गर्दा जति पनि विद्यार्थीको क्रेडिट ट्रान्सफर गरिदिने तथा सम्बन्धन लिइएको बाहेकका विश्वविद्यालयहरुमा समेत ‘आर्टिकुलेसन एग्रिमेन्ट’ गरेर क्रेडिट ट्रान्सफर गरिने गरिएको थियो ।

तर नियमावलीको ३३ को उपनियम (१) ले विद्यार्थीको पाठ्यक्रमको ट्रान्सफर गर्न सकिने क्रेडिटको सीमा नै तोकेसँगै त्यस सम्बन्धी विकृति हट्ने विश्वास छ ।

यस्तै, नियमावलीले क्रेडिट ट्रान्सफर गर्दा कलेजमा अध्ययनरत कुल विद्यार्थीको संख्याको २५ प्रतिशतको मात्र क्रेडिट ट्रान्सफर गर्न मिल्ने व्यवस्था समेत गरेको छ । नियमावलीको ३३ को उपनियम (१) मा भनिएको छ, “उपनियम (१) बमोजिम क्रेडिट ट्रान्सफर गर्दा संस्थामा अध्ययनरत विद्यार्थी संख्याको पच्चीस प्रतिशतभन्दा बढीेको क्रेडिट ट्रान्सफर गर्न पाइनेछैन।”

यसबाहेक, नियमावलीले आर्टिकुलेसन एग्रिमेन्ट गरेर क्रेडिट ट्रान्सफर गर्न निषेध गरेको छ ।

“शिक्षण संस्थाहरुले सम्बन्धन प्राप्त विश्वविद्यालय बोहकका विश्वविद्यालय वा शिक्षण संस्थाहरुसँग सम्झौता (आर्टिकुलेसन एग्रिमेन्ट) गरेर क्रेडिट ट्रान्सफर गर्न तथा सो सम्बन्धमा प्रवद्र्धन गर्न पाइनेछैन,” नियमावलीको सोही नियमको उपनियम (३) ले भनेको छ।