काठमाडौं । तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज ८५औँ जन्मजयन्ती मनाइँदैछ।
विसं १९९७ साउन २८ गते जन्मिएका कोइरालाको आज विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाउन लागिएको हो।
मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न समय र कालखण्डमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरेका कारण नेपाली राजनीतिमा सादगी नेताका रूपमा परिचय स्थापित छ । राजनीतिमा निष्ठा, इमान्दारिता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न उनको योगदान महत्त्वपूर्ण छ ।
संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको नेतृत्वमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । फलःस्वरुप नेपाली जनताको २००७ सालदेखिको चाहनाबमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्वर्गीय नेता कोइरालाको कार्यकालमा पूरा भएको थियो ।