• २०८३ असार १४
  • 2026 June 28, Sunday

‘वातावरण विभागलाई स्रोतसाधन र जनशक्ति सम्पन्न बनाउन लागि परेको छौं’

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वातावरण विभागलाई स्रोतसाधन र जनशक्ति सम्पन्न बनाउनका लागि मन्त्रालय लागि परेको बताएका छन् ।

आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको बैठकमा उनले सबैको चासोको रुपमा वातावरण विभाग रहेको भन्दै यसमा सरकार गम्भीर भएर लागेको बताए ।

वातावरण मन्त्रालय नै अर्को बनाउने कुरा भने सम्भव नरहेको भन्दै वन तथा वातावरण मन्त्रालयलाई नै सम्पन्न बनाएर लान सकिने पनि उनको भनाई छ ।

उनले भने, ‘भविष्यमा युवाहरुको बढुवाको अवसर र उहाँहरुलाई यो वातावरण समुहमा पनि आवद्ध गर्ने कुरा अगाडि बढि सकेको कुरा जानकारी गराउन चहान्छु । सबैको चासोको रुपमा रहेको वातावरण मन्त्रालय र वातावरण विभाग नै छुट्टै हुनु पर्छ भन्ने कुरा पनि आएको छ । वातावरण विभाग कार्यरत छ र त्यहा पर्याप्त जनशक्तिको अभाव र स्रोतसाधनको अभाव छ नै यसलाई स्रोतसाधन र जनशक्ति सम्पन्न बनाउनका लागि वन तथा वातावरण मन्त्रालय लागि परेको छ ।’

यसको साथै, उनले वातावरण परिषद् बनाउने कुरामा पनि मन्त्रालय सकारात्मक रहेको भन्दै यो विषयमा छलफल अगाडि बढाएर वातावरण परिषद् निर्माण गर्ने बताए ।उनले वन मन्त्रालयलाई वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय भनेर अझै व्यापक बनाउनु पर्ने कुरा उल्लेख गर्दै जलवायु परिवर्तनको बारेमा पनि गम्भीर रहेको बताए ।

उनले भने, ‘अहिले जलवायु परिवर्तनको कुरा विश्वव्यापी रुपमा आएको छ । यसले नेपलालाई पनि प्रभाव पारेको हुनाले वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालय भनेर अझै व्यापक बनाउनु पर्छ जस्तो लाग्छ । यस विषयमा छलफल हुन आवश्यक छ । जलवायु परिवर्तनको बारेमा गम्भिर भएर लागेका छौ ।’

आजको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरर्गत कार्यरत कर्मचारीहरुको आन्तरिक समस्या र नेपालमा वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापन सम्बन्धी समस्याका सम्बन्धमा छलफल भएको थियो ।