मलेसियाका प्रस्तावित राजदूतलाई विचौलियासँग डर

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत डा.नेत्रप्रसाद तिमिल्सिनाले मलेसियामा बिचौलियाहरूले श्रमिकहरूलाई ठग्ने गरेको भन्दै आफू एकदमै अफ्ठ्यारो ठाउँमा जान लागेको बताएका छन् ।

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मलेसियामा बिचौलियाहरू भएका कारण आफूलाई टिकेर काम गर्न कठिन हुने भन्दै श्रम नीति अन्तर्गत राज्यले सहयोग गर्न सकेमा सहज हुने बताए ।

‘मलेसिया र नेपालमा म्यानपावर बीचमा काम गर्ने वचौलियाहरु हुन्छन् । बिचौलियाले सिन्डिकेट गरेर श्रमिकलाई सोझै कम्पनीसँग सम्पर्क दिंदैनन् । मलेसियामा जताततै विचौलिया हुन्छन भन्ने सुनेको छु । जताततै ठग्ने काम गर्छन् रे,’उनले भने, ‘राजदुतहरुले पुलिस लगाएर लखेट्नुपर्छ रे । म एकदमै अफ्ठ्यारो ठाउँमा जाँदैछु । मलाई थाहा छैन कति टिक्न सक्छु । यहाँहरूले बिचैमा तँ फेल भइस्, आइज भन्नुभयो भने मलाई केही छैन । म राष्ट्रका लागि, देशका लागि इमानदारितापूर्वक काम गर्ने हो । राज्यले सहयोग गर्यो र श्रम नीति अन्तर्गत जान सकियो भने सहज हुन्छ ।’

उनले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।यस्तै इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले नेपाल र इजरायलबिचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवं मजबुत बनाउन प्रयत्न गर्ने प्रतिबद्धता जनाए । नेपाल इजरायलबीच सिधा हवाइ सेवा सञ्चालनका लागि पहल गर्ने पनि उनको भनाई छ ।

त्यस्तै,पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालले नेपाल र पाकिस्तानबिच उच्च राजनीतिक स्तरको भ्रमणका लागि पहल गर्ने, नेपालको संघीय संसद् र पाकिस्तानको आपसी सम्बन्ध विस्तारमा भूमिका खेल्ने प्रतिवद्धता जनाइन ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रस्तावित प्रकाशमणि पौडेलले पनि आफ्नो कार्ययोजना पेस गरेका छन् ।उनले आफ्नो कार्ययोजना पेस गर्दै पोर्चुगलमा पहिलो पटक नेपालको आवासीय राजदुतावास स्थापनाका लागि प्रारम्भिक प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१