
बागलुङ । बागलुङमा ने.वि.संघसँग नेतृत्व कार्यक्रमको सुरुवात भएको छ । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ बागलुङको संयोजनमा र नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बागलुङको सञ्चालनमा यो कार्यक्रम आरम्भ गरिएको हो ।
नेपाली काँग्रेसको १०० दिने विशेष अभियान तथा क्षेत्रीय कार्यसमितिको “जनता जगाऔं, काँग्रेस बढाऔं” अभियानलाई थप प्रभावकारी बनाउने तथा पछिल्लो समयमा पार्टीका भातृ संघ–संस्थाहरू र पार्टी नेतृत्वबीचको दूरीले संगठनलाई कमजोर बनाएको अवस्थालाई मध्यनजर गर्दै, कार्यक्रम मार्फत साझेदारी र आपसी बुझाइको विकास गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहेका नेपाली काँग्रेसका नेता तथा काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले आफ्नो मन्तव्य व्यक्त गर्दै पछिल्लो समयमा पार्टी र भातृ संघ–संस्थाहरूबीच देखिएको दूरीले संगठनात्मक कार्यहरूमा प्रभाव पारेको उल्लेख गर्दै नेतृत्व र संघ–संस्थाहरूबीच सामूहिक समझदारीको विकास आवश्यक रहेको बताए ।
उनले यो कार्यक्रमले युवाहरूलाई नेतृत्व विकासका लागि प्रेरित गर्दै काँग्रेसको मूल आदर्श र नीतिप्रति प्रतिबद्धता बलियो बनाउने विश्वास व्यक्त गरे । साथै, अध्यक्ष थापाले आगामी दिनमा पार्टीलाई बलियो बनाउन सबै तहबाट सहकार्य र सक्रियताको खाँचो रहेको कुरा औंल्याए ।
कार्यक्रममा नेपाल विद्यार्थि संघ बागलुङका पूर्व अध्यक्ष महेन्द्र कँडेल, धवलागिरी बहुमुखी क्याम्पसका स्ववियु सभापति सुदिपसागर कँडेल, विद्यार्थि नेता सुनील गौतम, सालिन विश्वकर्मा लगाएतले पार्टीको संगठनात्मक विकास, नेतृत्व सुदृढीकरण र विद्यार्थीहरूका मुद्दाहरूलाई प्राथमिकतामा राखेर कार्य गर्ने विषयमा आफ्नो मत प्रकट गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ बागलुङका सभापति चण्डिप्रसाद शर्मा पौडेलले काँग्रेसको १०० दिने विशेष अभियान र “जनता जगाऔं, काँग्रेस बढाऔं” अभियानले पार्टीलाई पुनः सुदृढ गर्न र जनतामाझ विश्वासको वातावरण निर्माण गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरे । पौडेलले नेतृत्व र भातृ संस्थाहरूबीच सहकार्य र सामूहिक जिम्मेवारीको भावना बलियो बनाउँदै, पार्टीको कार्यदिशालाई थप सक्रिय र क्रियाशील बनाउन ने.वि.संघ संग विद्यार्थि कार्यक्रम सहायक हुने विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ बागलुङका अध्यक्ष विशेष पराजुलीले “सामाजिक न्यायसहितको सुशासन” स्थापित गर्नका लागि ने.वि.संघ र पार्टी नेतृत्वबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै, सबैलाई संयुक्त प्रयासमा लाग्न आह्वान गरे ।