• २०८३ असार १७
  • 2026 July 01, Wednesday

भूमि समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बाँनिया

रामेछाप । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले भूमि समस्या समाधानको लागि वाग्मती प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

आइतबार भूमि समस्या समाधान आयोग रामेछापसँगको छलफलमा बोल्दै मुख्यमन्त्री बानियाले भूमि सम्बन्धी समस्या समाधानको लागि सरकारले आयोग बनाएको बताए ।आयोगलाई काम गर्ने क्रममा धेरै समस्या भएको बताउँदै उनले ती समस्या समाधान गर्न वाग्मती प्रदेश सरकारको तर्फबाट सबै प्रयास गरिने बताए ।

कार्यक्रममा भूमि समस्या समाधान आयोग रामेछापका अध्यक्ष गौतमकुमार लामाले आयोगले जिल्लामा हालसम्म गरेका काम र काम गर्ने क्रममा आएका चुनौती बारे मुख्यमन्त्री बानियालाई जानकारी गराएका थिए । समस्या सुनेपछि मुख्यमन्त्री बानियाले आफूले समस्याा सुनेको बताउँदै त्यसको समाधानको लागि सक्दो प्रयास गर्ने बताए ।

‘मैले यहाँका समस्या सुने, समस्या समाधानका लागि के गर्न सकिन्छ सुझाव पनि पाइयो, यहाँबाट फर्किएपछि समस्या समाधानको लागि जे गर्न सकिन्छ म गर्छु’, उनले भने ।कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, आयोगका जिल्ला सदस्यहरू लगायतको सहभागिता थियो ।