
जीवन एउटा रहस्यले भरिएको यात्रा हो। यसमा हामीले हाँसो, खुशी, आँसु, र दुःख सबैको अनुभव गर्छौँ। तर जब समस्याको पहाड अगाडि आउँछ, मानिस आफूलाई कमजोर महसुस गर्न थाल्छ। हाम्रो समाजमा समस्या भनेको कमजोरीको रूपमा हेरिन्छ। कसैले आफ्ना समस्या बाँड्ने प्रयास गरे भने पनि त्यसलाई गम्भीरतापूर्वक सुन्ने मानिस धेरै कम हुन्छन्।
मेरो जीवनमा केही समयअघि यस्तै घटना भयो। म एउटा आर्थिक संकटको भूमरीमा फसेको थिएँ। मलाई थोरै रकमको आवश्यकता परेको थियो। त्यसैले सहयोगका लागि केही नजिकका मानिसहरूसँग आफ्नो कुरा राख्नुपर्यो। सुरुमा, म आफ्नो सबैभन्दा मिल्ने साथीसमक्ष पुगेँ। मनमा धेरै डर थियो, तर आफूलाई सम्हालेर उसलाई समस्या सुनाएँ। मैले सोचें, ऊ मेरो मनको कुरा बुझ्नेछ। तर, उसका जवाफले मलाई झन् निराश बनायो। उसले आफ्ना समस्या यति धेरै गम्भीर रूपमा सुनायो कि मेरो समस्या उसकै अगाडि सानो लाग्न थाल्यो।
त्यसपछि म अर्को व्यक्तिसँग पुगेँ। ऊ पनि मेरो निकट व्यक्ति थियो। तर ऊसँग कुरा गर्न जाँदा, उसका पीडाहरू मेरो भन्दा धेरै ठूलो लाग्यो। उसले आफ्नो जीवनका कठिनाइहरूका कुरा सुनायो। पारिवारिक समस्या, आर्थिक सङ्घर्ष, र व्यक्तिगत निराशाहरूले भरिएको उसको कथा सुनिसकेपछि मलाई उसको पीडाको गहिराइ महसुस भयो।
त्यस दिन मैले एउटा गहिरो पाठ सिकें – सबैका आ-आफ्नै हुन्छन् समस्या। मानिस बाहिरबाट जति हाँसिरहेका देखिन्छन्, भित्रभित्रै तिनीहरूले आँधीबेहरी खेपिरहेका हुन्छन्।
समस्या: सबैका कथा फरक, तर पीडा उस्तै
हाम्रो समाजमा धेरैजसो मानिसहरू आफ्ना पीडाहरूलाई लुकाएर बाँचिरहेका हुन्छन्। उनीहरूलाई थाहा हुन्छ, आफ्नो समस्या अरूसँग बाँड्नाले उनीहरूलाई कमजोर देखाइनेछ। यसैले धेरै मानिसहरू भित्रभित्रै पग्लिरहेका हुन्छन्। तर जब उनीहरूको भित्री जीवन बुझ्ने प्रयास गरिन्छ, तब मात्रै उनीहरूको वास्तविक संघर्ष थाहा हुन्छ।
धेरै मानिसहरूसँग आफ्ना गुनासाहरू छन् – कुनै आर्थिक समस्याले पिरोलिएको छ, कुनै सम्बन्धको अभावले। हरेक व्यक्तिले भोग्ने समस्या भिन्न हुन्छ, तर ती सबैले पीडाको गहिरो अनुभूति गरिरहेका हुन्छन्। उदाहरणका लागि, कसैलाई धनको अभाव छ भने कसैलाई स्वास्थ्यको। कसैले आफ्नो करिअरको चिन्ता लिइरहेको छ भने कसैले आफ्ना परिवारलाई खुसी राख्न संघर्ष गरिरहेको छ।
जब म आफ्नो समस्या लिएर दुई व्यक्तिसँग पुगेँ, उनीहरूको कथा सुनेपछि मैले महसुस गरें कि जीवनमा हरेक व्यक्तिले आफ्नै तरिकाले संघर्ष गरिरहेका छन्। मैले आफ्ना साथीहरूलाई दोष दिन सकिनँ। किनकि तिनीहरू सहयोग गर्न नसक्नुको कारण उनीहरूको स्वार्थ होइन, उनीहरूको आफ्नै समस्याहरू थिए।
यस घटनाले मलाई एउटा गहिरो सोच दिएर गयो – हामीले अरूलाई सहयोगका लागि दोष दिनु अघि, उनीहरूको अवस्था बुझ्ने प्रयास गर्नुपर्छ। कहिलेकाहीँ उनीहरूको असमर्थता आफैँ पीडाको परिणाम हो।
समस्या भनेको जीवनले दिएको चुनौती हो। यसले मानिसलाई बलियो बनाउँछ। जब समस्या आउँछ, तब हाम्रो सहनशीलता, आत्मविश्वास, र निर्णय क्षमताको परीक्षण हुन्छ। यी समस्याहरूले हामीलाई हरेक पटक जीवनको नयाँ पाठ सिकाउँछन्।
समस्या भनेको केवल दुःखको स्रोत होइन, यो परिवर्तनको अवसर पनि हो। मानिसहरूले समस्या आउँदा हरेस खानुको सट्टा समाधानको बाटो खोज्नुपर्छ। समस्या समाधान गर्न सधैं सहयोग खोज्नुपर्छ भन्ने छैन। कहिलेकाहीँ हामीले आफ्नै क्षमतामा विश्वास गरेर अघि बढ्नुपर्छ।
समाज भनेको सहयोगको आधार हो। मानिसहरू सहकार्यका लागि बनेका हुन्। तर आजको समाजमा सहयोग माग्नुलाई कमजोरीको रूपमा हेरिन्छ। यस्तो सोचले मानिसहरूलाई अझै एक्लो बनाएको छ।
हामीले बुझ्नुपर्छ, सहयोग माग्ने व्यक्तिलाई कमजोर भनेर हेरिनु हुँदैन। बरु तिनीहरूको साहसको सम्मान गर्नुपर्छ। जीवनका चुनौतीहरूसँग जुध्न सघाउन सकियो भने त्यो सबैभन्दा ठूलो मानवता हो।
जीवनमा सबैका आ-आफ्नै समस्या हुन्छन्। यो सत्यलाई हामीले स्वीकार गर्नुपर्छ। अरूको अवस्था नबुझी तिनीहरूलाई दोष दिनुभन्दा, तिनीहरूको पिडालाई बुझ्ने प्रयास गर्नुपर्छ। समस्याले मानिसलाई बलियो बनाउँछ, र यसले जीवनलाई अझ अर्थपूर्ण बनाउँछ।
यसैले, समस्या आउँदा डराउनु हुँदैन। हरेक समस्या समाधान गर्न सकिन्छ। आत्मविश्वास, सकारात्मक सोच, र सहकार्यका माध्यमबाट हामीले जीवनलाई सुखद बनाउन सक्छौँ। आखिर, समस्या भनेकै जीवनलाई बुझ्ने एउटा अर्को दृष्टिकोण हो।