
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भएको छ ।
स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा २०८२ बैशाख १२ गतेसम्म परीक्षण र उपचार सञ्चालन गर्नेछ ।गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट हुनु भएका प्रजनन उमेरका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरु कार्यक्रमको लक्षित वर्गमा राखिएको छ ।
कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्ट परीक्षणको प्रक्रियाका विषयमा जानकारी दिँदै भनिन्, ‘परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । यसरी विवरण टिपाएपछि केन्द्रबाट रेफरल टिकट प्राप्त हुन्छ । यो टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा गएर जँचाउन सकिन्छ ।’‘स्वास्थ्य प्रवर्धन केन्द्रमा टिपिएका विवरण जाँच गर्ने ठाउँमा हेर्न सकिने भएकोले जँचाउने ठाउँमा नाम दर्ता गर्न लाइनमा बस्नु नपरोस् । जाँच प्रक्रिया सहज होस् भनेर आफू नजिकैको केन्द्रबाट नाम टिपाउने प्रबन्ध गरिएको हो,’ उनले भनिन् ।
परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ । प्रारम्भिक जाँचका क्रममा शंका लागेमा अल्ट्रासाउन्ड गरिन्छ । यसपछि मेमोग्राफीका लागि पठाइन्छ । पाठेघरको मुखको क्यान्सरका लागि ३० वर्षदेखि ६० बर्ष उमेर समूहका सबै महिलाको एचपिभी डीएनए पिसिआर (ह्युमन प्यापोलिमा भाइरस) परीक्षण हुन्छ । यसबाट पोजेटिभ रिपोर्ट आयो भने कल्पोस्कोपी र बायोप्सी गरिन्छ ।२०८१ वैशाख ३ गते सुरु भएर त्यस महिनाभरि वडाहरुमा चलाइएको निःशुल्क परीक्षणले क्यान्सरसँगै धेरै महिलाहरुमा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्याहरु देखिएको छ । त्यस बेलाको शिविरमा ८ हजार १४५ जना महिलाहरुले जाँच गराउनुभएको थियो । जसमध्ये शंका लागेका ६ हजार ६२४ जना महिलाको पाठेघरको मुखको क्यान्सर पहिचानका लागि एचपिभी डिएनए परीक्षण गरिएको थियो ।