• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अमेरिकी वृद्धा अपहरण गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौ । नेपालस्थित अमेरिकी राजदूतावासले पोखराको होटलबाट आफ्नो देशकी वृद्धा अपहरणमा परेको खबर दिएको दुई दिनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरबाट अपहरणमुक्त गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार , काठमाडौंस्थित अमेरिकी राजदूतावासले अमेरिकन राहदानी वाहक ७० वर्षीया वृद्धालाई गत सोमबार पोखरा महानगरपालिका वडा नं.६ लेकसाईड स्थित एक होटलबाट अपहरणमा परेको खबर प्राप्त गरेको थियो ।अपहरणकारीले फिरौती बापत तीन लाख युरो मागिएको पनि कास्की प्रहरीलाई जानकारी गराइएको थियो । अनुसन्धान गर्दै प्रहरीले ती वृद्धालाई अपहरण गरेको आरोपमा एक जना महिलालाई पनि पक्राउ गरेको छ । अपहरण गरेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.४ बस्ने वर्ष ३७ की सरिता लामालाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो साथीहरुसंग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आएकी ती अमेरिकी वृद्धा अपहरणमा परेको सूचना पाउना साथ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ती अपहरणमा परेकी अमेरिकी वृद्धालाई मकवानपुरको हेटांैडा उपमहानगरपालिका वडा नं.१९ नेवारपानीबाट अपहरणमुक्त गरेको प्रहरीले जनाएको छ ।हाल जिल्ला प्रहरी कार्यालय हिरासतमा रहेकी सरिता लामाविरुद्ध कास्की जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।