• २०८३ साउन ७
  • 2026 July 23, Thursday

पर्सामा वडा कार्यालयमा तोडफोड

काठमाडौं । पर्साको सखुवा प्रसौनी गाउँपालिका-४ स्थित वडा कार्यालयमा तोडफोड भएको छ।गएराति ५/६ जनाको समूहले वडा कार्यालयमा प्रवेश गरी कुर्सी, टेबल, पंखा, दराज लगायतका सामग्री तोडफोड गरेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिए।

“कार्यालयको ताला फोडेर आधिकारिक कागजात चोरी गरेर लगिएको देखिन्छ। कार्यालयमा रहेका दराज, टेबल, पंखा र कुर्सी लगायत सामग्री तोडफोड गरिएको छ। तोडफोड गर्ने समूहको बारेमा किटानी जाहेरी दिने तयारी भइरहेको छ,” अध्यक्ष यादवले भने।अध्यक्ष यादवले एक जना भारतीय नागरिकलाई नागरिकता सिफारिस नगरिदिएको कारणले ती समूहले वडा कार्यालयमा तोडफोड गरेको हुनसक्ने आशंका व्यक्त गरे।

“एक जना भारतीय नागरिकलाई नागरिकताको सिफारिस गर्न वडाध्यक्ष ज्यूमाथि दबाब आएको भन्ने मैले सुनेको छु। भारतीय नागरिकलाई कसरी सिफारिस दिन सकिन्छ र? वडाध्यक्ष ज्यूले ती व्यक्तिहरूसँग मुद्दा दर्ता गर्न तयारी गरिरहेको जानकारी मैले पाएको छु,” यादवले थपे।वडाध्यक्ष आरिफ अन्सारीका अनुसार, रातिको समयमा प्रवेश गरेका ५/६ जनाको समूहले १२ वटा कुर्सी, ३ वटा दराज तोडफोड गरेका थिए, साथै लेटरप्याड, छाप र ल्यापटप चोरी गरेर लगेको थियो।

“छ महिनादेखि एक जना भारतीय नागरिकलाई नागरिकता सिफारिस दिन दबाब आइरहेको थियो। सिफारिसका लागि ममाथि विभिन्न धाकधम्की आइरहेको थियो। ती नै समूहले राति तोडफोड गरेका हुन्। उनीहरूविरुद्ध मुद्दा दर्ता गर्न म जिल्ला प्रहरी कार्यालय पर्सा पुगेको छु,” वडाध्यक्ष अन्सारीले भने। वडा कार्यालयमा भएको तोडफोडबारे जानकारी पाउनेबित्तिकै प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।