• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

महासंघद्वारा थप शिक्षकहरूलाई काठमाडौंमा जुटाउने तयारी, अध्यक्ष सुवेदी भन्छन्– आन्दोलन अब निर्णायक चरणमा पुगेको छ

काठमाडौं। सरकारले विद्यालय फर्किन आग्रह गरिरहेका बेला शिक्षक तथा कर्मचारीहरू भने आन्दोलनलाई अझ सशक्त बनाउने तयारीमा छन्।नेपाल शिक्षक महासंघले आन्दोलन ‘निर्णायक मोड’ मा पुगेको भन्दै देशभरका शिक्षक र कर्मचारीहरूलाई काठमाडौंमा जुट्न आह्वान गरेको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, “अब आन्दोलन निर्णायक चरणमा प्रवेश गरिसकेको छ। अझ व्यापक सहभागिता र प्रतिबद्धतासहित आन्दोलनलाई अघि बढाउनु जरुरी छ।”

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक–कर्मचारीका माग पुरा गर्ने प्रतिबद्धता जनाउँदै उनीहरूलाई विद्यालय फर्किन अनुरोध गरेको थियो। साथै, वैशाख १२ देखि संसदको बर्खे अधिवेशन बोलाउन राष्ट्रपतिकोमा सिफारिस गर्ने निर्णय पनि भएको थियो। तर, बारम्बार आश्वासन मात्र पाइरहेको भन्दै शिक्षक महासंघ सरकारप्रति आशावादी देखिएको छैन।अध्यक्ष सुवेदीले राज्यको दृष्टिकोण अझै पनि पुरानै ढर्राको रहेको आरोप लगाउँदै भने, “हामीले उठाएका मुद्दाप्रति सरकारले खासै गम्भीरता देखाएको छैन।”

महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले पनि ऐन कहिले जारी हुन्छ भन्ने सुनिश्चितता नभएको बताइन्। “सरकारले ऐन ल्याउने भनेको छ, तर पेस नै नहुन सक्ने अवस्था छ। विषयगत समिति नै पूर्ण नभइसकेको स्थिति छ,” उनले भनिन्।शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताउँदै महासंघले देशभरका शिक्षक र कर्मचारीहरूलाई काठमाडौंमा आइपुग्न अनुरोध गरेको छ। अध्यक्ष सुवेदीले सबैलाई अपिल गर्दै भने, “यो आन्दोलन निर्णायक मोडमा पुगेको छ। तपाईंहरूको सक्रिय उपस्थिति आवश्यक छ। देशभरका सम्पूर्ण साथीहरू तुरुन्तै काठमाडौं आइपुग्नुहोस्।”शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐनको मागसहित महासंघले चैत २० गतेदेखि काठमाडौंमा आन्दोलन गर्दै आएको छ। आन्दोलनका कारण विद्यालयहरूमा हड्ताल चलिरहेको छ, जसले नयाँ भर्ना अभियान, वार्षिक परीक्षा नतिजा, एसईई उत्तरपुस्तिका परीक्षण लगायतका शैक्षिक गतिविधिमा असर परेको छ।