• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

सडक अवरुद्ध गर्दै शिक्षकहरूको प्रदर्शन, यातायात सेवा प्रभावित

काठमाडौँ । शिक्षक तथा कर्मचारीहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन्।प्रदर्शनका कारण माइतीघर–बबरमहल खण्डको सडक अवरुद्ध भएको छ, जसले यातायात सेवा ठप्प पारेको छ।

प्रदर्शनकारीहरूले ‘शिक्षा ऐन जारी गर’, ‘शिक्षा ऐन विरोधीहरू होसियार’ जस्ता नारा लगाउँदै सडक पूर्ण रूपमा ढाकेपछि सवारी आवागमन प्रभावित भएको हो।शिक्षक महासंघको नेतृत्वमा २० चैतदेखि राजधानी केन्द्रित आन्दोलन चलिरहेको छ। उनीहरूले शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन ल्याउन जोड दिइरहेका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक–कर्मचारीका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो र आन्दोलन रोक्न आग्रह गर्दै विद्यालय फर्कन आह्वान गरेको थियो। साथै, वैशाख १२ देखि संसद्को बर्खे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरिएको छ।

तर, विगतमा पटक–पटक आश्वासन मात्र पाएको भन्दै शिक्षक महासंघले शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ। आन्दोलन निर्णायक चरणमा पुगेको भन्दै महासंघले थप शिक्षक तथा कर्मचारीलाई काठमाडौंमा भेला भएर आन्दोलनलाई चर्काउन आह्वान गरेको छ।विद्यालयहरूमा हड्तालका कारण नयाँ भर्ना अभियान रोकिएको छ भने वार्षिक परीक्षाको नतिजा प्रकाशन, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका शैक्षिक क्रियाकलाप ठप्प छन्। राष्ट्रिय परीक्षा बोर्डले असार पहिलो साता एसईई नतिजा सार्वजनिक गर्ने तयारी गरे पनि उत्तरपुस्तिका परीक्षण सुरु नभएकाले नतिजा ढिलो हुने सम्भावना बढेको छ।