
कास्की । ‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका-४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार गत आइतबार राति पौडेल पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित रहेको ढावा रेष्टुरेन्ट एन्ड बारमा पुगेका थिए । त्यहाँ उनले विभिन्न खानेकुरा अर्डर गरेर खाएका थिए । तर, पैसा तिर्ने बेलामा भने ‘म प्रहरीको डीएसपी हुँ भन्दै धाकधम्की दिई काउन्टरमा रहेको कर्मचारीमाथि अभद्र व्यवहार गरेका थिए ।
यसबारे प्रहरी कन्ट्रोलमा सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको थियो ।उनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।