कक्षा १२ को परीक्षा कर्मचारी परिचालनमार्फत गर्ने निर्णय गरिएको थिएन : परीक्षा बोर्ड

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा सञ्चालन गर्ने कुनै निर्णय नगरेको स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षकको उपस्थिति बिना परीक्षाको कल्पना गर्न सकिदैन भनेका छन्।

मंगलबार बिहान बोर्डको बैठकपछि कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने खबरको विषयमा असन्तुष्टि जनाउँदै अध्यक्ष शर्माले भने, “परीक्षाको बारेमा हिजो बिहान बोर्ड बैठक बस्यो, त्यो समयसम्म अवस्था सामान्य थियो र समस्या समाधानको प्रक्रियामा थियो। तर शिक्षामन्त्रीको राजीनामा पछि परिस्थिती परिवर्तन भयो।” उनले थपे, “मन्त्री नभएपछि माथिल्लो निकायसँग छलफल गर्नुपर्ने स्थिति आयो, त्यसैले मेरो पछिल्लो जानकारी दिने प्रयास ढिला भयो।”

अध्यक्ष शर्माले कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने कुरा निराधार भएको भन्दै भने, “बोर्डले त्यसबारे कुनै निर्णय गरेको छैन। शिक्षकको उपस्थिति बिना परीक्षा हुने कुरा बोर्डले कल्पनासमेत गरेको छैन। प्रश्नपत्र अनलाइनबाट पठाइने भए पनि प्रधानाध्यापक र केन्द्राध्यक्षसँगको समन्वय आवश्यक छ। शिक्षकको विकल्पको बारेमा अन्य कुनै योजना थिएन।”उनले थपे, “परीक्षाको प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका परीक्षणसम्म सबै कार्य शिक्षकको जिम्मामा छ, त्यसैले शिक्षकको बिना परीक्षा सञ्चालन गर्न बोर्डले विचार गर्न सक्दैन।”

राष्ट्रिय परीक्षा बोर्ड र उनका नाम जोडिएर आएका विषयमा उनले खण्डन गर्दै भने, “सञ्चारमाध्यममा आएका समाचारमा बोर्ड र मेरो नाम जोडिएकोमा दुःख लागेको छ। परिस्थिति स्पष्ट गर्न ढिला भएको हो, तर त्यस्तो खालको जानकारी गलत थियो।”कक्षा १२ को परीक्षा ११ गतेका लागि तय गरिएको थियो, तर शिक्षकको आन्दोलनका कारण परीक्षा गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल थियो। बोर्डले प्रधानमन्त्री केपी ओलीलाई वर्तमान परिस्थितिबारे जानकारी गराएपछि परीक्षा २१ वैशाखदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।अध्यक्ष शर्माले विद्यार्थीसम्म नयाँ परीक्षा तालिका पु-याइएको जानकारी पनि दिए र भने, “विद्यार्थीलाई पठनपाठन नियमित राख्न अनुरोध गर्दछु। शिक्षक महासंघले राखेको मागमा सरकारसँग सहमति हुने विश्वास छ, र अब तोकिएको परीक्षा सञ्चालनमा शिक्षकको सहयोग अपेक्षित छ।”

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१