• २०८३ साउन ७
  • 2026 July 23, Thursday

दरवाङका स्थानीयले सडक विस्तारका लागि आफ्नै घरका पेटी भत्काए

काठमाडौ । मालिका गाउँपालिका–६ दरवाङका स्थानीयवासीहरूले सडक विस्तारमा सहयोग पुर्‍याउन आफ्नै घरका पेटी र टहरा भत्काएका छन्। दरवाङ बजारको सडक स्तरोन्नति योजनाअन्तर्गत सडक चौडाइका लागि स्वस्फूर्त रूपमा स्थानीयले आँगनका संरचनाहरू हटाएका हुन्।

स्थानीय सडकको चौडाइ तीन दशमलव पाँच मिटरबाट पाँच दशमलव पाँच मिटर पुर्‍याउन घर–आँगनको भाग हटाइएको वडा अध्यक्ष पथबहादुर रोकाले जानकारी दिए। उनका अनुसार हुलाकचोक, तल्लो दरवाङ, पुलचोक हुँदै झोलुङ्गे पुलसम्म सडक दुवै किनारमा ४०० मिटर लम्बाइमा नालीसमेत निर्माण गरिएको छ।

यस योजनाका लागि मालिका गाउँपालिकाले रु ४७ लाख ५३ हजार अनुदान उपलब्ध गराएको थियो। सडक सुधारमा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिँदा उपभोक्ताले मात्र रु ५ लाख ४१ हजार ८३३ बराबरको श्रमदान गरेका छन्।स्थानीयको सहयोग र सक्रियताले योजना प्रभावकारी रूपमा अघि बढेको बताइएको छ।