• २०८३ असार १४
  • 2026 June 28, Sunday

धनुषामा विष सेवन घटना: तीन सन्तानको मृत्युपछि आमाको पनि निधन

काठमाडौँ । । धनुषामा विष सेवन गरेर तीन सन्तानको ज्यान जाने घटनामा आमाको पनि उपचारका क्रममा मृत्यु भएको छ। शहीदनगर नगरपालिका ५ बासुदेवपट्टीकी ३० वर्षीय पविताकुमारी साहको उपचारको क्रममा आज बिहान ९:४५ बजे जनकपुरधामस्थित रामजानकी अस्पतालमा निधन भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

गत सोमबार साँझ पविताकुमारी साह आफ्नै घरमा विष सेवन गरेको अवस्थामा आफ्ना तीन सन्तानसँगै फेला परेकी थिइन्। सोही दिन, ६ वर्षीय आदित्य साह, ४ वर्षीया आकृति साह र २ वर्षीया आरुसीको मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानमा प्रहरीले पविताले आफ्ना तीन सन्तानलाई विष सेवन गराई आफैं पनि विष सेवन गरेको खुलेको जनाएको छ।

पविता ९ महिनाको गर्भवती थिइन्। विष सेवन गरेपछि उनलाई शल्यक्रिया गरेर शिशु निकालिएको थियो, र शिशुको अवस्था सुधारोन्मुख रहेको डीएसपी सिंहले बताए।पविताले विष सेवन गरेको थाहा पाएपछि परिवारले उनलाई उपचारका लागि अस्पतालमा ल्याएका थिए। पविताको माइती पक्षले भने शारीरिक र मानसिक यातना दिइएको कारण पविताले विष सेवन गरेको आरोप लगाएका छन्।