काठमाडौं । सार्वजनिक लेखा समिति अन्तर्गतको संसदीय उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा अनियमितता भएको भन्दै तत्काल २ अर्ब २२ करोड रकम असुल गर्न सिफारिस गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा गठित संसदीय उपसमितिले यस्तो सिफारिस सहितको प्रतिवेदन संसदको मुख्य लेखा समितिलाई बुझाएको हो। उपसमितिले विमानस्थल निर्माणमा अनियमितताका बारेमा प्राप्त उजुरीका आधारमा अध्ययन गरेर यो निर्णय गरेको हो।
उपसमितिको अध्ययन प्रतिवेदनमा, पोखरा विमानस्थल निर्माणमा नेपाल नागरिक उड्डयन प्राधिकरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयले समग्र सम्झौताका प्रावधानको उल्लङ्घन गर्दै २ अर्ब २२ करोड ४० लाख रुपैयाँको आर्थिक अनियमितता गरेको उल्लेख गरिएको छ। प्रतिवेदनमा, मास्टर लिस्टको आधारमा भएको यस आर्थिक अनियमितताको बारेमा थप जानकारी दिइएको छ। सोही आधारमा, महालेखा परीक्षकको ६०औं प्रतिवेदनले पनि उक्त रकम असुल गर्नुपर्ने बेरुजुको रूपमा राखेकोले तत्काल २ अर्ब २२ करोड ४० लाख असुल गर्न सिफारिस गरिएको छ।