• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

जरुरी प्रस्ताव बेवास्ता, सरकारप्रति विपक्षी दलहरू आक्रोशित

काठमाडौँ ।शिक्षकहरूको माग सम्बोधन गर्न विपक्षी दलहरूले प्रतिनिधि सभामा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव बैठकको कार्यसूचीमा समावेश नभएपछि ती दलहरूले कडा आपत्ति जनाएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता गराएको प्रस्ताव मंगलबारको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा नराखिएको भन्दै संसद्मै आपत्ति जनाइएको हो। बैठकमा बोल्दै पाण्डेले सरकारले शिक्षकहरूको आन्दोलनलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाए। उनले भने, “शिक्षकहरूको माग सम्बोधन गर्नुको साटो सरकार पानी र बुट किन्ने काममा व्यस्त छ।”

पाण्डेले सभामुखमार्फत सरकारलाई विपक्षीको प्रस्तावमाथि छलफल गराउन रुलिङ दिनुपर्ने मागसमेत गरे।सो प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवर, आम जनता पार्टीका अध्यक्ष प्रभु साह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको समर्थन रहेको छ।विपक्षी दलहरूले सरकारले न केवल शिक्षक आन्दोलन, तर लामो समयदेखि पेशागत अधिकारको माग गर्दै आएका चिकित्सकहरूको आन्दोलनप्रति पनि बेवास्ता गरेको आरोप लगाएका छन्।