• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

रास्वपाको चेतावनी–रवीन्द्र मिश्रमाथि सरकारको व्यवहार स्वीकार्य छैन, सच्याउन आग्रह

काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले राप्रपा सहअध्यक्ष रवीन्द्र मिश्रमाथि सरकारको व्यवहारप्रति कडा आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले राज्यबाट मिश्रमाथि दुर्व्यवहार गरिएको दाबी गरे।

“रवीन्द्र मिश्रको विचार र व्यवहारप्रति मेरो सहमति नहुन सक्छ,” सांसद झाले भने, “तर उहाँप्रति राज्यले गरिरहेको व्यवहारप्रति गम्भीर आपत्ति छ। घोर विमति छ। यस्तो व्यवहार तत्काल सच्याइनुपर्छ।”उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै एक कार्यक्रममा रवीन्द्र मिश्रमाथिको कारबाही राजनीतिक प्रेरणाबाट भएको भन्ने कुरा स्वीकार गरेको पनि स्मरण गराए।

“वैशाख १४ गते काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुपर्थ्यो, एक झापु लगाएर हिरासत पठायौँ,” झाले भने, “प्रधानमन्त्रीले नै जब यसलाई राजनीतिक प्रतिशोध भने, अब मन्त्री–महामन्त्रीहरूले त्यसको खण्डन नगरे हुन्छ। ”सांसद झाले हालसम्म सरकारमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरण सार्वजनिक नभएको विषयमा पनि प्रश्न उठाउँदै सरकारको जवाफदेहितामाथि आशंका व्यक्त गरे।